डढेलोको जोखिममा रहेका १२८ मध्ये ६२ वन जलिसके

0
245
Google search engine
वालिङ, ८ बैशाख ।
स्याङ्जामा डढेलोको जोखिममा रहेको एकसय २८ वनहरुमध्ये ६२ वनमा डढेलो लाईसकेको छ । जोखिममा रहेका वनहरुमा डढेलो लाग्न नदिनकालागि सतर्कता अपनाउँदा अपनाउँदै पनि आधाजसो वनहरु डढिसकेका छन् । ६२ वटा वनमा डढेलो लाग्दा झण्डै पाँच सय हेक्टर वनमा क्षति पुगेको छ । सुख्खायामसँगै यहाँका वनहरुमा डढेलोको जोखिम बढ्दै गएको छ । दिनहुँजसो वनहरुमा आगलागी भईरहेका छन् । जानी जानी वा दुर्घटनावश स्याङ्जाका ६२ वनहरुमा डढेलो लागेको हो ।
अहिले सबैभन्दा धेरै आगलागी वालिङ नगरपालिकाभित्रका वनमा लागेको छ । वालिङका २०, पुतलीबजारका १०, भीरकोटका ८, आँधीखोला÷फेदीखोला सव डिभिजन अन्तर्गत ८, चापाकोटका ६, अर्जुनचौपारीका ५, बिरुवा÷हरिनासका ३, गल्याङ÷कालीगण्डकी सव डिभिजन अन्तर्गतका २ वनमा डढेलो लागिसकेको डिभिजन बन कार्यालय स्याङ्जाका डिभिजन वन अधिकृत होमबहादुर बल्छौडीले जानकारी दिनुभयो । डिभिजन वन अधिकृत बल्छौडीका अनुसार सबैभन्दा धेरै पुतलीबजार नगरपालिका अन्तर्गतका वन क्षेत्रहरु जोखिममा रहेका छन् । कार्यालयले सव डिभिजन अन्तर्गतका वन क्षेत्रहरुको जोखिम मूल्याङ्कन गरी सोही अनुसार संभावित घटना हुन नदिन सचेतना अपनाउँदै आएको छ । पुतलीबजारका कूल २६ वन डढेलोको जोखिममा रहेका छन् । वालिङका २५, चापाकोटका २२, भीरकोटका १५, बिरुवा÷हरिनासका १२, अर्जुनचौपारीका १०, गल्याङ÷कालीगण्डकीका १०, आँधीखोला÷फेदीखोलाका ८ गरी कूल एकसय २८ वन जोखिममा रहेका छन् । जोखिममध्ये झण्डै आधा वनमा डढेलो लागिसकेको छ ।
“डढेलो लाग्न सक्ने संभावित जोखिमका वन क्षेत्रहरु पहिचान गरी सरोकारवालाहरुबीच चेतनामूलक कार्यक्रमहरु गरेका थियौं” उहाँले भन्नुभयो, “सतर्कता अपनाउँदा अपनाउँदै पनि डढेलोकाकारण वनजङ्गल, बन्यजन्तु र जडिबुटी साथै पानीका स्रोतहरुमा पनि असर पारेको छ ।” डढेलोको संभावित जोखिम भएका ठाउँहरुमा समन्वयात्मक कार्यक्रमहरु, डढेलो सप्ताह, अग्निरेखा बनाउने तालिम, आगलागी भईहालेमा रोकथाम र नियन्त्रणकालागि सुरक्षा निकायहरुलाई औजार उपकरणहरु उपलब्ध गराईएको उहाँले बताउनुभयो । एघार वटा पालिकालाई समेटेर ८ वटा सव डिभिजनमार्फत कार्य विभाजन गरिएको छ । पुतलीबजार, वालिङ, भीरकोट, चापाकोट नगरपालिका, अर्जुनचौपारी गाउँपालिकामा एक÷एक सव डिभिजन रहेका छन् । आँधीखोला र फेदीखोला, बिरुवा र हरिनास, गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिकामा संयुक्त गरी एक÷एक वटा सव डिभिजन रहेका छन् । वनमा जानी जानी वा दुर्घटनाकारणले डढेलो लाग्ने गरेको छ । देशैभरी झण्डै ६४ प्रतिशत आगलागी जानी जानी, ३२ प्रतिशत दुर्घटनावश लाग्ने गरेको अध्ययनबाट पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।
वनमा आगो लगाउनेलाई बिगो असुल, तीन वर्ष कैद सजायँ, रु. साठी हजार जरीवाना वा तीन वटै सजायँ हुने कानूनी ब्यवस्था रहेको छ । वनको छेउछाउमा रहेका घर तथा खेतबारी भएका मानिसहरुले झारपात पोल्दा पनि आगलागी हुने गरेको छ । जंगली जनावरहरु बाघ, बाँदर, मृग, मुसा, खरायो, दुम्सी लगायतका जनावरबाट खेतीबाली जोगाउन पनि आगो लगाउने गरेको देखिन्छ । खरबारीमा डढेलो लगाएमा नयाँ घाँस राम्रो र बाक्लो पलाउँछ भनेर पनि आगो लगाउँदा नियन्त्रणबाहिर गई ठूलो क्षति हुने गरेको छ । वनजङ्गलमा आगलागी हुँदा बस्तीमा ल्याईएका पानीका पाईपहरु पोलिएर जिल्लाका धेरै बस्तीहरुमा खानेपानीको हाहाकार नै भएको छ ।
Google search engine
Google search engine