वालिङ, १४ बैशाख ।
युवा लेखक एवम् पत्रकार वसन्त पराजुलीद्वारा लिखित पछिल्लो उपन्यास ‘बखान’ माथि स्याङ्जाको वालिङमा विमर्श गरिएको छ । वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको आयोजनामा आइतबार वालिङस्थित नेचुरल भ्यू पोइन्ट रेस्टुरेन्टमा उक्त विमर्श कार्यक्रम सम्पन्न भएको हो ।
विमर्शमा सहभागी वक्ताहरूले ‘बखान’ उपन्यासलाई इतिहासको एउटा महत्त्वपूर्ण दस्तावेजका रूपमा चित्रण गरेका छन् । पुस्तकमाथि टिप्पणी गर्दै समीक्षक तथा साहित्यिक अभियन्ता मिलन समीरले यो उपन्यास प्रजातन्त्रका सेनानी बखानसिंह गुरुङको जीवनीमा मात्र सीमित नरही एउटा सिंगो कालखण्डको इतिहास भएको बताउनुभयो । समीरले उपन्यासमा सात सालको क्रान्तिको कथा, तत्कालीन जीवनको यथार्थ चित्रण, नेपाली काँग्रेसको इतिहास, सहकारी आन्दोलन र चितवनको बस्ती विकासको इतिहासलाई पर्यावरणीय चेतका साथ उधिनिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा आफ्ना धारणा राख्दै उपन्यासकार वसन्त पराजुलीले ऐतिहासिक तथ्यहरूलाई साहित्यमा उतार्नु जोखिमपूर्ण भए पनि आफूले बखानसिंह गुरुङको योगदानलाई लिपिबद्ध गर्न यो प्रयास गरेको बताउनुभयो । उहाँले चितवनको राजनीति, समाज र सहकारी क्षेत्रमा गुरुङले पु¥याएको ऐतिहासिक योगदानलाई नयाँ पुस्तासम्म पु¥याउनु आफ्नो मुख्य उद्देश्य रहेको स्पष्ट पार्नुभयो ।

त्यस्तै, समाजसेवी तथा साहित्यकार ध्रुव शर्मा पंगेनीले ‘बखान’ उपन्यासले एउटा बिर्सिएको इतिहासलाई पुनः जीवित गराएको बताउनुभयो । यसले तत्कालीन समयको राजनीतिक चेतना मात्र नभएर सामाजिक संरचना बुझ्न भुमिका खेलेको बताउनुभयो ।नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका पूर्व केन्द्रीय उपाध्यक्ष यामबहादुर कुँवरले बखानसिंह गुरुङजस्ता ओझेलमा परेका पात्रको योगदानलाई पुस्तकका रूपमा ल्याएर लेखकले महत्त्वपूर्ण सामाजिक दायित्व पूरा गरेको भन्दै प्रशंसा गर्नुभयो ।
कवि तथा निबन्धकार शम्भु अर्यालले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा लेखकको साहित्यिक व्यक्तित्वमाथि पनि चर्चा गरिएको थियो । नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष समेत रहनुभएका पराजुलीका यसअघि ‘कुमाता’, ‘मोम्चो’ र ‘ड्रीमी आइज’ जस्ता कथासङ्ग्रहहरू पाठकमाझ लोकप्रिय छन्





