वालिङ, १ बैशाख ।
अहिलेको महँगो जीवनशैली, बढ्दो प्रतिस्पर्धा, सामाजिक–आर्थिक दबाब तथा विभिन्न तनावका साथै स्वास्थ्यसम्बन्धी अन्य विविध समस्या दिनप्रतिदिन बढ्दै गइरहेको सन्दर्भमा हाम्रो जीवनशैली सुखी र खुसी बनाउन र समग्र मुलुकलाई समृद्धिको बाटोमा अगाडी डोर्याउन अन्तराष्ट्रिय आरोग्य दिवसको अवसर पारेर स्याङ्जाको जुग्लेमा साताव्यापी योग, ध्यान र सकरात्मक चिन्तन सहित उर्जा ध्यान शिविर तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
आँधीखोला गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले मानिसको जीवनशैली, शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक, र पारिस्थितिक कल्याणलाई आपसमा साटासाट गर्दै निरोगी जीवन र समाज बनाउन यस किसिमको कार्यक्रमले छुट्टै सन्देश दिन सफल भएको बताउनु भयो ।
एकीकृत सेवा कार्यालय स्याङजाका प्रमुख जीवन पौडेलले योग, आयुर्वेद, ध्यान र आध्यात्मिक अभ्यासजस्ता मौलिकतालाई प्रभावकारी रूपमा प्रवर्द्धन गर्दै नेपालको अपार जैविक विविधता, यहाँका अमूल्य जडीबुटी, अतुलनीय प्राकृतिक सम्पदालाई आरोग्य दिवसले एकसाथ विश्वमाझ विचरण गराउने क्षमता राख्ने भएकाले भावी पुस्ताकै लागि अनुपम उपहार साबित हुने विश्वास व्यक्त गर्नु भयो । यस दिवसले आरोग्य र मानव कल्याणयुक्त पर्यापर्यटनको विकासमा मार्फत् वैदेशिक अर्थ आर्जनको माध्यम बनेर सघाउने अपेक्षा रहेको उहाँले वताउनु भयो । पौडेलले भन्नुभयो “ वेलनेस जीवन जिउने कला भएको उल्लेख गर्दै नेपालको छवि थप विश्वमाझ संशक्त ढंगबाट पुर्याउनुका साथै नेपालको संस्कृति, परम्परागत विधि, खानपान, रहनसहन, आयुर्वेदिक अभ्यासको प्रवर्धन हुने छ ।”

प्रहरी निरिक्षक रेशम पौडेलले आरोग्यले मानिसमा आत्मविश्वास, उत्साहसङ्गै व्यक्ति कठिन परिस्थितिमा पनि सहजता र सकारात्मकता राख्न यस किसिमको कार्यक्रमले सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रमको मुख्य प्रशिक्षक जीवन विज्ञान परिषद् स्याङ्जा संयोजक राधा अर्यालले योग, ध्यान र सकारात्मक चिन्तन प्राचीन तथा वैज्ञानिक रूपमा प्रमाणित विधिहरू भएको बताउँदै जसले शरीर र मन दुवैलाई सन्तुलित राख्न सहयोग पुर्याउने, शरिरमा ऊर्जा वृद्धि गर्ने , मनलाई शान्त, केन्द्रित र स्थिर बनाउन सहयोग गर्नुको साथै व्यक्तिको सोचाइ, व्यवहार र जीवनप्रतिको दृष्टिकोणमा सुधार ल्याई मानसिक सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।

जीवन विज्ञान स्याङ्जा परिषद् सदस्य एवंम् प्रशिक्षक दुर्गा बाँनीयाले आन्तरिक जागरण, सामूहिक आरोग्य सँगै
शारीरिक र मानसिक तथा समाजिक र भावनात्मक सम्बन्ध राम्रो बनाउन जीवन विज्ञानको महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
कार्यक्रममा वडा सदस्य केदारनाथ लामिछाने , पूर्व शिक्षक नारायणप्रसाद पौडेल, चेतनाथ पौडेल , शिक्षक ख्यामनारायण लामिछाने , ख्यामनारायण क्षेत्री, प्रगतिशिल आमा समूह अध्यक्ष मञ्जु थापा लगायतले आरोग्य एवम् जीवन विज्ञानको महत्व बारे आफ्नो धारणा राख्नु भएको थियो ।
१०० जना भन्दा बढीको उपस्थितिमा सात दिन सम्म सञ्चालन भएको कार्यक्रममा जीवन विज्ञान परिषद् स्याङ्जा संयोजक राधा अर्याल, दुर्गा बानियाँ, योग साधक पूर्ण राज श्रेष्ठ लगायतको टीमले योग ध्यान, सकरात्मक चिन्तन लगायतको विषयमा सहजिकरण गर्नु भएको थियो । जागृती आमा समूह जुग्लेको आयोजनामा भएको कार्यक्रममा एकीकृत सेवा कार्यालय स्याङ्जा र जीवन विज्ञान स्याङ्जाको सहजिकरणमा सम्पन्न भएको थियो ।
कार्यक्रममा सहभागिहरु सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
जागृती आमा समूहका अध्यक्ष तारादेवी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आमा समूह सहसचिव सरस्वती पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो भने, सञ्चालन विष्णु पौडेलले गर्नु भएको थियो ।
नेपालको प्रस्तावमा संयुक्त राष्ट्र संघ महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा घोषणा गरेको थियो । यस वर्ष वैशाख २ गते “हिमालको चेतना, विश्वको आरोग्य” नारा सहित विभिन्न कार्यक्रमको साथ यस दिवस मनाइदै छ ।
यो निर्णयले स्वास्थ्यलाई केवल रोगको अनुपस्थिति मात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा वातावरणीय सन्तुलनका रूपमा परिभाषित गर्दै ‘समग्र आरोग्य’ अवधारणालाई विश्वस्तरमा सुदृढ बनाउन टेवा पुर्याउने छ ।





