वालिङ, ३ माघ ।
स्याङ्जाको वालिङमा संचालित प्रथम ॐ कार कप भेट्रान्स सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि एनएएफसि पोखराले जितेको छ । एनएएफसि पोखराले ट्राई ब्रेकरमा मेजर एफसी पोखरालाई ४– ३ गोलअन्तरले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो । निकै प्रतिष्पर्धात्मक खेलमा निर्धारित समयमा दुवै पक्षबाट गोल नभएपछि खेल ट्राई ब्रेकरमा पुगेको थियो । पराजयसंगै मेजर एफसी पोखरा उपविजेता बनेको छ । विजेता तथा उपविजेता टिमलाई पुरस्कार वितरण गर्दै वालिङ नगरपालिका निर्वतमान नगरप्रमुख दिलिपप्रताप खाँणले भेट्रान्स समूहका लागी आयोजित फुटबल प्रतियोगिताले खेल हरेक उमेर समूहका लागी महत्वपुर्ण छ भन्ने देखाएकोे बताउनुभयो ।
प्रतियोगितामा स्याङ्जासहित बुटवल, पोखरा, पाल्पाका ९ समूहको सहभागिता रहेको थियो । प्रतियोगितामा ५० वर्षमाथिका अनिवार्य एक जनासहित अरु ४० वर्षभन्दामाथिका खेलाडीहरुले खेल प्रर्दशन गरेका हुन । प्रतियोगितामा प्रथम हुने समूहले रु. एक लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने द्वितीय हुने समूहले रु. पचास हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।





