वालिङ, ३० पौष ।
स्याङ्जाको वालिङमा प्रथम ॐ कार कप भेट्रान्स सेभेन ए साईड फुटबल प्रतियोगिता सुरु भएको छ । ॐ कार ईभेन्टस हबको आयोजनामा वालिङ खेलमैदानमा मंगलबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन गर्नुहुँदै गण्डकी प्रदेश सभा सदस्य एवम् अर्थ विकास समितिका सभापति भोजराज अर्यालले खेलले स्वस्थ राख्नुकासाथै एकापसमा आपसी भाईचारा स्थापित गर्दै राष्ट्रको पहिचान निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।
हिजोका दिनमाभन्दा आजका दिनमा खेल क्षेत्रमा लागेका खेलाडीहरुले आफ्नो व्यक्तिगत पहिचानकासाथै राष्ट्रको पहिचान गराउन सफल भईरहेको बताउनुभयो । आगामी दिनमा पनि यसप्रकारका प्रतियोगिताहरु निरन्तररुपमा हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा एन्फा गण्डकी प्रदेशका उपाध्यक्ष ताराबहादुर गुरुङ (शम्शेर( ले भेट्रान्स प्रतियोगिताले छुट्टै रौनक थपेको बताउँदै खेल्नलाई उमेरले छेक्दैन भन्ने सन्देश दिएको बताउनुभयो । एन्फाका पूर्व केन्द्रीय सदस्य एवम् आयोजक संस्थाका सल्लाहकार एलवी ज्वारचनले स्वागत गर्नुभएको उक्त कार्यक्रम संस्थाका अध्यक्ष बिजय मल्लको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन संस्थाका प्रबन्ध निर्देशक नवराज पौडेलले गर्नुभएको थियो ।

प्रतियोगितामा स्याङ्जासहित बुटवल, पोखरा, पाल्पाका ९ समूहको सहभागिता रहेको छ । प्रतियोगितामा ५० वर्षमाथिका अनिवार्य एक जनासहित अरु ४० वर्षभन्दामाथिका खेलाडीहरु समावेश छन् । प्रतियोगितामा प्रथम हुने समूहले रु. एक लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने समूहले रु. पचास हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष मल्लले जानकारी दिनुभयो । प्रतियोगिता माघ २ गतेसम्म सञ्चालन हुने छ ।

हिजोे पहिलो खेल वालिङ भेट्रान्स रातो र हेमजा फुटबल क्लब सम्सराबीच भएको थियो । जसमा वालिङ रातो ४–१ गोलले बिजयी भएको छ । दोस्रो खेल तानसेन पाल्पा र मेजर एफसीबीच भएको थियो जसमा मेजर एफसी ४–२ गोल अन्तरले बिजयी भएको छ ।





