स्वामी ईश्वरानन्द
स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका ८, दिम्पामा करिब १३०० मिटर जति कालीगण्डकीको उत्तरप्रवाह देख्न पाइन्छ । मुक्तिनाथ क्षेत्रदेखि प्रवाहित शालग्राम वाहिनी गण्डकी नदी विश्वमै दुर्लभ नदी हुन् । आफ्नो गर्भमा शालग्रामको रूपमा रहेका विभिन्न स्वरूप एवं आकृतिका भगवानलाई धारण गर्नुले पनि यी नदीको पवित्रता एवं ऐतिहासिकता स्पष्ट हुन्छ । उच्च हिमालय पर्वतबाट पहाडहरू फोर्दै तराईका फाँट बेसीहरूमा लामो प्रवाह भएकी गण्डकी नदी विभिन्न ठाउँमा फरक–फरक दिशातर्फ बगेकी छिन् । विशेषगरी नदीहरूको उत्तरप्रवाह दुर्लभ मानिन्छ । यस्ता उत्तरवाहिनी नदी एवं तटवर्ती क्षेत्रहरू नदीका अन्य क्षेत्रहरूभन्दा वढी धार्मिक एवं वैज्ञानिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छन् ।
वास्तु शास्त्रअनुसार पूर्वोत्तर दिशा सबैभन्दा ऊर्जाशील क्षेत्र हो । यहाँ पनि गण्डकी नदी पूर्वोत्तर दिशातर्फ प्रवाहित छन् । काशीमा गङ्गा उत्तरवाहिनी भएर बगेझैँ दिम्पामा उत्तरतर्फ बगेकी छन् । शिवको अघ्र्य पनि उत्तरतिर फर्केको हुन्छ । त्यस्तै, यहाँको नदीको दिशा पनि उत्तरतर्फ प्रवाहित छ । जनश्रुतिअनुसार यही ठाउँमा उत्तरतर्फ सुतेका शिवलाई गण्डकीले स्नान गराउने चेष्टा राख्दा उत्तर प्रवाह भएको भन्ने पाइन्छ । कतै–कतै पूर्वतिर गर्भिणी गाई भएकाले गाई बचाउन नदीले उत्तरतर्फ धार फर्काएको पनि भन्ने चलन छ । कतैकतै त गण्डकीले आफ्नो स्वरूप आफैले हेर्न खोज्दा उत्तर प्रवाह भएको भन्ने पनि सुनिन्छ । रात्रीको समयमा शङ्ख घण्टको ध्वनि सुनिनुले यो स्थानको शून्यता र ऊर्जा प्रवाह ज्यादा छ भन्ने कुराको संकेत हो । यहाँको नदी नागवेली परेर बग्नुले कालीय नागको बास यही ठाउँमा भएको हो भन्ने कुराले प्रसिद्धि पाएको छ । यहाँ कालीयहृद तीर्थ पनि छ । अनेकौं थरिका नाग नागिनीको दर्शनले पनि यस ठाउँमा विभिन्न प्रजातिका सर्पहरू आकर्षित भएर बस्दछन् । उत्तर गण्डकीको आकाशबाट देखिने भू–बनावट पनि वेदी आकारको छ । यस्तो पवित्र शालग्राम क्षेत्रमा यमदूत पनि प्रवेश गर्न सक्दैनन् । गयामा पिण्ड दिए भन्दा पनि यहाँ पितृकार्य गर्दा पितृ खुसी भई वैकुण्ठ जान्छन् भन्ने कुराको शास्त्रीय प्रमाण छ । करिब १० किलोमिटर जति यहाँको उत्तरगण्डकी धार्मिक क्षेत्र पर्दछ । यही क्षेत्रमै राम सीता आई स्नान गरेको हुनाले राममन्दिर, श्रीकृष्ण भगवान पनि आएको हुनाले कृष्ण मन्दिर एवं राजा मणिमुकुन्द सेन आएर तप गरेकाले मणिमुकुन्देश्वर शिव मन्दिर, दुर्गा मन्दिर स्थापित हुन पुगेका छन् ।
नदीषु गण्डकी श्रेष्ठा तत्राप्युत्तरवाहिनी ।
उत्तरायां कृष्णभायां कोटिगुणफलं लभेत् ।।
अन्य क्षेत्रमा गरिएको पूण्यकर्म र शुभकर्मभन्दा यस्ता क्षेत्रमा गरिएका शुभकर्महरू करोडौँ गुणा फल दिने हुन्छन् । परापूर्व कालमा यहाँ धेरै ऋषिहरू बसेर यज्ञ गरेकाले सयौँ यज्ञ कुण्डका थुम्काहरू भग्नावशेषका रुपमा भेटिन्छन् जहाँको ठाउँको नाम नै अग्निटार रहेको छ । हूँगी घाटदेखि केलादीघाटसम्मको शालग्राम क्षेत्रअन्तर्गत तटवर्ती १५ तीर्थमध्ये यो उत्तरगण्डकी विल्वप्रभ गुप्त क्षेत्रभित्र पर्दछ । वराह भगवान्ले पृथ्वीसँग गरेको संवाद वराह पुराणबाट प्राप्त हुन्छ ।
अग्निप्रभ रुरुञ्चैव देव प्रभश्च विलवकम्
तरन्ति मनुजा येभ्यो घोरं संसार सागरम्
एतानि गुह्य तीर्थानि जानीयात् वसुधे मम ।
उत्तरगण्डकी नदीमा मुकुन्द खोलाको दोभानले अझ यसको महत्व बढाएको छ । यस्ता उत्तर क्षेत्रमा क्षेत्रसंन्यास लिएर साधना गर्नु, बास बस्नु, तीर्थ जानु विशेष महत्वको हुन्छ ।
पिबन्तु साधवो नित्यं तिष्ठन्तु गण्डकी तटे ।
गच्छन्तु परमं स्थानं तद्विष्णो परमं पदम् ।। हिमवत्खण्ड गण्डकी माहात्म्य ११ ।।
उत्तर गण्डकीमा मरणको विशेष महत्व छ । यहाँ ल्याइएका शवहरूलाई उत्तरतर्फ सुताएर राखिनाले सीधै शिवलोक र वैकुण्ठलोकमा प्रवेश हुन्छ । कहिल्यै नरित्तिने ऊर्जाको नवीकरण स्रोत यहाँ प्राप्त हुन्छ । पर्याप्त ऊर्जा भएको ठाउँमा सन्तुष्टि प्राप्त हुन्छ । चक्रनदीको तीरमा बस्ने सबै पशुपक्षी एवं मनुष्यको शरीरमा चक्र अङ्कित हुन्छ ।
सर्वास्थिषु भवेच्चक्रं मस्तके स्पष्टमेव च
चक्रनद्युत्तरे तीरे लभन्ते पुण्यमुत्तमम् ।। महागरूड पुराण ९६ ।
यस्तो तीर्थमा स्नान गर्दा, ३ रात बास बस्दा सिधै मोक्ष प्राप्त हुने कुरा शास्त्रहरूमा वर्णित छ । गण्डकीको जल प्रवाह पूर्वी दिशाबाट बग्दै गर्दा सिधै उत्तरतर्फ मोडिनुले उत्तरी ध्रुवको म्याग्नेटिक फोर्सले तानेको हुनुपर्छ । यहाँको वायुमण्डलको एवं आभामण्डलको भिन्न अनुभूति हुन्छ । यहाँको अनुभूति भनेको शून्यताको अनुभूति हो यहाँको आकर्षणले गर्दा योजना नबनाई अनायासै यस ठाउँमा आइपुगिने जस्ता घटनाले यहाँको आकर्षण तीव्र छ भन्ने कुरा साधकहरूको अनुभूति हो । यस्ता गुरुत्वाकर्षण शक्ति कम भएका ठाउँमा साधकहरू आउनु र दर्शनपछि बारम्बार आइरहने इच्छा हुनुले, उचाईमा रहेका हिमालयमा बारम्बार जाने इच्छा भएभौ यहाँको आकर्षण पनि त्यस्तै छ । गुरुत्वाकर्षण बलले वस्तुहरूलाई आँफूतर्फ खिच्दछ । गुरुत्व बलले पृथ्वीका हरेक वस्तुमा प्रवेग उत्पन्न गरिरहेको हुन्छ भने गतिशील वस्तुलाई स्थिरमा राख्दछ । विज्ञानको नियमअनुसार पृथ्वीको सतहबाट उचाईतिर जाँदा गुरुत्वप्रवेगको मान घट्दछ । हिमालयमा चढ्दा शरीर एवं मन हल्का हुन्छ किनकि पृथ्वीको अर्धव्यास बढ्दै जान्छ । यस्तोमा गुरुत्व प्रवेगको मान घट्दै जान्छ र गुरुत्वको मान घट्दा तौल पनि घट्दछ । चन्द्रमामा वस्तु तौलविहीन भएजस्तै योगीहरूले गुरुत्वाकर्षण बललाई अधीनमा राखेर मन र शरीरको तौललाई सन्तुलनमा राख्दै जमिनबाट उठेको अनि शरीरको बोझबाट हल्का बनेको अनुभूति गर्छन् । भौतिक आकर्षणको अवरोध विनाको साधकको स्थिति स्वतन्त्र खसाई जस्तै हो । यस्तो अवस्थामा साधक ध्यानमा प्रवेश गर्छ । स्वतन्त्र प्रवेश गर्दा ऊ आत्तिन्छ, झस्कन्छ । पृथ्वीमा हावाको उद्र्धचाप हुन्छ तर यस्ता तीर्थ क्षेत्रमा हावाको चाप कम हुन्छ । जमिनको गुरुत्व बल कमी हुनासाथ आकाशीय पिण्डको आकर्षण बढ्न थाल्छ । जसले गर्दा जो कोही पनि यस्ता भूमिमा तानिन्छन् । उत्तरी दिशामा गुरुत्वाकर्षण कमी हुने हुनाले आकाशीय वायुमण्डलको आकर्षण बलियो बन्दछ । यस्तो क्षेत्रमा मृत्यु हुनु, स्नान गर्नु, पितृ कार्य गर्नुले सिधै हाम्रो भावना र चेतना उध्र्वलोकगामी बन्छ । शास्त्रमा सम्पूर्ण शालग्राम क्षेत्रमा मर्ने व्यक्ति सिधे वैकुण्ठ जाने कुरा यही रहस्य अनुभव गरेर ऋषिहरूले बताएका हुन् । गण्डकी क्षेत्रमा जस्तै पापी पनि मर्यो भने त्यो कहिल्यै प्रेत योनीमा बस्नै सक्दैन । सिधै मुक्तिनाथ भगवानको अनुग्रहबाट मुक्ति प्राप्त गर्दछ । सोमेश पर्वत, नीलगिरी हिमालय, द्विकूट पर्वत जहाँ शालग्राम गिरि (मुक्तिपर्वत) स्वयं विष्णु को एवं शिवको स्वरूप मानिन्छन् । शास्त्रमा जुम्रा, पक्षी, वनस्पति र मनुष्य प्राणी जगत नै यी नदीमा स्नान गर्दा मुक्ति हुने निश्चय गरिएको छ । विशेष गरेर उत्तरवाहिनी क्षेत्रमा एक एक कोशसम्म पनि मर्ने प्राणीहरू वैकुण्ठमा जान्छन् ।
शालग्राम समीपे तु क्रोशमात्रम्समन्ततः ।
कीटोपि म्रियते याति वैकुण्ठभवनं ध्रुवम् ।। स्कन्दपुराण ।।
मुक्ति पर्वतका सबै चरअचर प्राणी सबै देवताका गुप्त रूप हुन् । यो गण्डकी नदीको चीसोपन हिमाली जल हो भने सबै बालुवा कङ्कण पुगेको ठाउँ मुक्ति क्षेत्र हो । यही महत्व बुझेर मणिमुकुन्द सेन प्रथम उत्तर तटमा आई झाडीमा बसी साधना गरेका थिए ।
भारहीनता महसुस हुनु यो ठाउँको विशेषता नै हो । पृथ्वीमा १०० केजीको वस्तु चन्द्रमामा १५ केजीको अनुभव हुनुले शरीरबाट केही कमी नभएर भारमात्र कमी हुन्छ । चन्द्रमा मनसोजातः (शुक्लयजुर्वेदः ३१।) मन चन्द्रसँग सम्बन्धित हुन्छ । चन्द्रमामा हाइड्रोस्फीयर, वायुमण्डल र चुम्बकीय बल नहुनाले त्यहाँ गुरुत्ववेग कमी भए जस्तै साधकले तीर्थ क्षेत्रमा मनलाई सन्तुलन एवं स्थिर राख्दा काम क्रोध लोभ आदि वेगबाट स्वतः मुक्तिको अनुभूति गर्दछ । गौतमको न्यायसूत्र, आद्यपतनासमवायिकारणत्वं गुरुत्वुं मा न्युटनको सिद्धान्त प्रतिपादन गरिएको छ । यसले वस्तुको प्रवृत्तिमा भएको मुलभूत गुणको चर्चा गरेको छ । पृथ्वीलाई जलमण्डल, भूमण्डल र वायुमण्डल गरी ३ भागमा विभाजन गर्न सकिन्छ । हावाको बाक्लो तह नै वायुमण्डल हो । नाइट्रोजन, अक्सिजन कार्बनडाइअक्साइड, जलवाष्प र धुलाका कणको मिश्रण भएको वायुमण्डल गुरुत्व शक्तिले नै अस्तित्वमा छ । वायुमण्डलको असन्तुलनले जीवको जीवन पद्धतिमा प्रतिकूल असर पार्छ । तसर्थ यस्ता ऊर्जाशील तीर्थक्षेत्र सधैं सुरक्षित हुन्छन् र तत्वदशीहरू यस्ता ठाउँमा बस्न रुचाउँछन् । वायुमण्डलीय घनत्व घट्ने हुनाले यस्ता ठाउँमा प्राण शक्ति प्रभावशाली हुन्छ र जीवको प्राण आकर्षित हुन्छ । पृथ्वीभन्दा माथि आकाशीय पिण्डभन्दा तल बीचको खाली भागमा तीर्थको मङ्गलमय ऊर्जा एवं यज्ञीय ऊर्जाको सकारात्मकता स्थायी रूपमा बस्दछ । तसर्थ तीर्थ क्षेत्रको वातावरण सधैं शान्तिप्रिय हुन्छ । विज्ञानका अनुसार सूर्यबाट आउने हानिकारक विकिरणहरूको असर उत्तर दिशातर्फ कम पर्छ । सूर्यबाट आउने वायु तथा किरण चुम्बकीय क्षेत्रबाट प्रभावित भएर उत्तर दिशामा आउने हुनाले विशेष प्रभाव पार्ने हुन्छ । पृथ्वीको चाल अन्य ग्रह भू–चुम्बकीय ऊर्जा, जैविक ऊर्जा, सौर्य ऊर्जा एवं वायुमण्डलीय ऊर्जाले नै तीर्थ क्षेत्रको वस्ती, प्रकृति र ब्रह्माण्डबीच एक तालमेल सिर्जना गरी मान्छेको जीवन सन्तुलित राख्दछ । यो वास्तुविज्ञानअनुसार पूर्वोत्तर दिशा बढी सकारात्मक शक्ति प्रवाहित गर्ने हुन्छ । नकारात्मक ऊर्जा भएको ठाउँमा बस्दा स्वास्थ्यमा एवं मानसिक सोचविचार र संगतमा ठूलो असर पार्दछ । तसर्थ तीर्थयात्रा, तीर्थको बसाइँ फलदायी बनाउन पनि यस्ता पवित्र तीर्थमा बस्नुपर्ने हुन्छ । यस्ता क्षेत्र नै तीर्थ क्षेत्रका रूपमा स्थापित हुन्छन् । जैविक ऊर्जा र उत्तरतर्फको चुम्बकीय उर्जाले नै गण्डकीको उत्तर प्रवाहको विशेष महत्व बढाउँछ ।
नदीका अनन्त जलका कण हिमालयबाट बगेकाले यी जलकणहरू बढी जीवन्त हुन्छन् । यस्ता जलमा बढी क्रिष्टल निर्माण हुन्छ । माइक्रोवियल गुणवत्ता बढी हुन्छ । शालग्राममा पाइने १४ रत्नको प्रभावले, पर्वतीय क्षेत्रमा बग्ने हुनाले र खनिज र म्याग्नेसियम, आइरन, क्याल्सियम बढी हुनाले गण्डकीको जल नदीका अनन्त जलका कण हिमालयबाट बगेकाले यी जलकणहरू बढी जीवन्त हुन्छन् । यस्ता जलमा बढी क्रिष्टल निर्माण हुन्छ । माइक्रोवियल गुणवत्ता बढी हुन्छ । शालग्राममा पाइने १४ रत्नको प्रभावले, पर्वतीय क्षेत्रमा बग्ने हुनाले र खनिज र म्याग्नेसियम, आइरन, क्याल्सियम बढी हुनाले गण्डकीको जल अझ बढी शुद्ध र पवित्र छ । गण्डकीको जलको पिएच स्तर (क्षारीय र अम्लीय मापन प्रणाली अल्कालाइन) क्षारीय प्रकृतिको छ । शास्त्रमा गण्डकीको जलको स्वरूपलाई कृष्णाभा एवं सदानीरा भनेर पारदर्शिताको रूपमा बताइएको छ । यिनै गण्डकीमा चराचरजगतका मालिक भगवान शालग्रामको रूपमा बस्नाले सम्पूर्ण तीनै लोकका तीर्थहरू जति बस्ने ठाउँ गण्डकी नै हो । शालग्रामलाई प्राचीन समुद्री जीवका १४ करोड वर्ष पुराना जीवाश्म (एम्नोटाइन) हुन् भनी वैज्ञानिकले बताउनाले गण्डकीको सर्वप्राचीनता सिद्ध हुन्छ । भारतीय र युरोसेली प्लेटको टक्करबाट बनेको हिमालय पर्वतबाट बगेकी गण्डकी गहिरा घाटी तथा हिमालय पर्वतलाई चिरेर बग्नुले यी नदीको ऐतिहासिकता स्वतः स्पष्ट हुन्छ । सम्पूर्ण देवताको बास यिनै गण्डकीको तटमा हुने गर्दछ । भगवानका मत्स्य, कूर्म आदि सबै अवतार चक्राङ्कित भएर गण्डकीको गर्भमा बसेकाले यी नदी महानदी एवं सरितप्रवरा सर्वश्रेष्ठ नदी भनेर ऋषिहरूले शास्त्रमा बताए ।
अहमस्मिन् महातीर्थे घरे पूर्वमुपस्थितः
शालग्रामे महाक्षेत्रे भूमे भागवतः प्रिय स्
यस् गच्छति च स्नानार्थं गण्डक्यां भक्ति संयुतः
पदे पदे अश्वमेधसस्य फलम् विद्मत्समप्लवात् ।। (वराहपुराणम ५र ६ ।।
यस्ता नदीमा जो घरबाट स्नान गर्छु भनी हिंड्दछन्, उसको एक–एक पाइलामा अश्वमेध यज्ञ गरेको फल प्राप्त हुनुका साथै ऊ तत्काल पापमुक्त हुन्छ । यिनै उत्तरगण्डकीको वरिपरि मन शान्त भएको बेला स्वतः अनाहतनाद श्रवण हुनुले पनि यो ठाउँमा ब्रह्माण्डको ऊर्जावलय एकत्रित छ भन्न मिल्दछ । देवत्वको विनाश नहुने दैवी शक्तिले भरिभराउ भएको क्षेत्र हो, शालग्राम क्षेत्र । उत्तरगण्डकीमा सधैं उत्तरायणको काल बनिरहन्छ । महाभारतका भीष्म पितामहले उत्तरायण कालको प्रतीक्षा गरे झैँ यहाँ नित्य उत्तरायण भएकाले यस्ता तीर्थमा जप तप एवं मरणको ठूलो महत्व हुन्छ । भूगर्भ विज्ञानका अनुसार हिमालय पर्वत शृङ्खलाको उत्थान प्रक्रिया निरन्तर भइरहने हुनाले उत्तरदिशाको प्रभाव यी नदीमा विशेष पर्छ । इरोसन ग्रहणशक्ति बढी हुने उत्तरवाहिनी नदीले ढुङ्गा एवं खनिज पदार्थहरू बढी सङ्कलन गर्ने क्षमता राख्दछन् । सिलिका, सोडियमजस्ता अरु खनिज पदार्थ पाइनाले मानवको स्वास्थ्यमा र कृषिबाट उत्पन्न खाद्यान्नमा सकारात्मक प्रभाव पार्दछ । जैविक अक्सिजनको मात्रा मध्यमस्तरको हुनाले जीवका लागि यस्तो भूमिअनुकूल वातावरण प्रदान गर्ने हुन्छ । दक्षिण एसियाको जलवायुलाई गण्डकीको आद्रताले सन्तुलन कायम गर्छ । धेरैजसो यस्तो घटना उत्तरवाहिनी क्षेत्रमा देखिन्छ । उत्तरवाहिनी जस्ता क्षेत्रमा विशिष्ट खालका जलचर एवं वनस्पतिहरू सिमल एवं गिद्ध, सर्पजस्ता प्राणीले बढी सुरक्षित महसुस गरेर बसेका देखिन्छन् । हिमालय क्षेत्रका दुर्लभ प्रजातिहरू यस्ता क्षेत्रमा पाइन्छन् । यसरी हेर्दा गण्डकीको उत्तरप्रवाह रहेको दिम्पा अत्यन्त महत्वपूर्ण क्षेत्रका रुपमा रहेको छ । यस्तो क्षेत्रमा श्राद्ध आदि पुण्य कर्म गर्दा गयामा गरेकोभन्दा सय गुण बढी फल मिल्ने कुरा हिमवतखण्डमा उल्लेख छ । यस्ता क्षेत्रका बारेमा अझै अध्ययन अनुसन्धान आवश्यक छ । योगी, सिद्ध, साधक र वैज्ञानिकहरूका लागि समेत यो क्षेत्र अनुसन्धेय विषय बनोस् ।