वालिङ ८, वैशाख ।
भीरकोट नगरपालिकामा निवृत्त शिक्षक मञ्च गठन गरिएको छ । अवको ६ महिनाभित्र नयाँ समिति गठन गर्ने, विधान निर्माण गर्ने गरी ११ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । खेम केसीको अध्यक्षतामा गठित मञ्चको उपाध्यक्षमा राधा केसी, सचिवमा डोलराज ढुंगाना, कोषाध्यक्षमा कृष्णप्रसाद श्रेष्ठ रहनुभएको छ भने सदस्यहरुमा डम्बरबहादुर सारु, रमेश पौडेल, जगनाथ अर्याल, नन्दलाल खनाल, शिव रेग्मी, देवि अर्याल र एक सदस्य पछि मनोनित गरिने बताईएको छ ।
वडा नं. ८ का अध्यक्ष तथा पूर्व शिक्षक नन्दलाल खनालको सक्रियातामा गठित मञ्चले भूपू शिक्षकबाट कोष निर्माण गर्ने, अनाथ तथा असाह्य विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्ने, बौद्धिक जगतको रुपमा मञ्चलाई विस्तार गर्ने, सेवा निवृत्त दीर्घरोगी तथा समस्यामा परेका शिक्षकहरुलाई सहयोग गर्ने, मञ्चमा आवद्ध भएकाको छोराछोरीलाई शैक्षिक क्रियाकलापमा परेका समस्या तथा अप्ठयारोमा सहयोग गर्ने उद्देश्यले मञ्चको गठन गरिएको हो । मञ्च गठन कार्यक्रममा भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले सेवा निवृत्त शिक्षकहरु बौद्धिक समूह भएकाले बौद्धिक समूहको सल्लाह र सुझावले नगरपालिका सफल हुने बताउनुभयो । लामो समय सक्रिय शैक्षिक सेवामा लाग्नुभएको सेवा निवृत्त शिक्षकहरुले सेवाबाट अवकास लिएपछि पनि समाज तथा समग्र शिक्षाको जगतलाई अतुलनीय योगदान दिन सक्ने बताउनुभयो ।