समाजको विकास र रुपान्तरणमा आमा समूहको योगदान महत्वपूर्ण : मन्त्री थापा

0
90
Google search engine

वालिङ, १९ चैत । गण्डकी प्रदेश सरकार सामाजिक विकास, युवा तथा खेलकूद मन्त्री विन्दुकुमार थापाले सामाजसँगै समग्र देशको आर्थिक र सामाजिक रुपान्तरणमा आमा समूहको महत्वपूर्ण योगदान रहेको बताउनु भएको छ । एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा आँधीखोला गाउँपालिका जुग्लेमा आयोजित आमा समूहका सदस्यहरुलाई नेतृत्व विकास कार्यक्रममा बोल्दै थापाले समुदायस्तरमा महिलाहरूको सहभागिता, सशक्तिकरण र सामाजिक विकासका लागि सरकारले जनचाहाना अनुसार नीति, कार्यक्रम र बजेट निर्माण र कार्यान्वयनमा जोड दिएको बताउनु भयो । उहाँले सामाजिक न्याय र समानता मूलक समाज निर्माणको लागि पछी परेका वर्ग समुदाय, ग्रामीण क्षेत्रमा रहेका नागरिकको जीवनस्तर उकास्नको लागि उद्यमशिलता, प्राविधिक शिक्षा, नेतृत्व विकास कार्यक्रममा लक्षित वर्गसँगै हातेमालो गरेर गण्डकी प्रदेश सरकार अगाडी बढेको बताउनु भयो ।

Google search engine

आँधीखोला गाउँपालिका उपाध्यक्ष सीता थापाले आमा समूह नेपालका समुदायस्तरमा महिलाहरूको सहभागिता, सशक्तिकरण र सामाजिक विकासका लागि गरेको कामको प्रशंसा गर्नु भयो ।

आँधीखोला गापा वडा नं. ५ का वडा अध्यक्ष कृषि प्रसाद पनेरुले संविधानले नै महिलाहरुको हरेक क्षेत्रमा प्रतिनिधित्व सुनिश्चित गरेको हुदाँ आफैमा क्षमता विकास सहितको क्रियाशिल भएर अगाडि बढ्नुपर्ने बताउनु भयो ।

एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले समयसँगै समुदायका समस्या र आवश्यकताहरू परिवर्तन हुँदै गएका कारण आमा समूहका पदाधिकारी तथा सदस्यहरूमा प्रभावकारी नेतृत्व, योजना निर्माण, निर्णय क्षमता, समन्वय र व्यवस्थापन सम्बन्धी सीप आवश्यक परेको र यस किसिमको कार्यक्रम आगामी आर्थिक वर्षको बजेटमा समावेश गरी जिल्लाका सबै क्षेत्रमा गर्ने तयारी रहेको बताउनु भयो ।

कार्यक्रममा अधिवक्ता कुञ्जना परियार प्यासीले महिला सशक्तिकरणको लागि नेतृत्व विकास, महिलाहरुमा हुनु पर्ने महत्वपूर्ण कानूनी ज्ञान, सकरात्मक सोच, आमा समूहले सामाजिक विकास र रुपान्तरण तथा आयआर्जनमा खेल्न सक्ने भूमिका लगायतका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

प्रदेश अस्पताल स्याङ्जा, एकद्धार संकट व्यवस्थापन केन्द्रकी प्रमुख गिता न्यौपानेले जिल्लाको महिला हिंसाको अवस्था, उद्धार र पुर्नस्थापनामा प्रदेश सरकारले खेलेका भूमिका लगायतका विषयमा सहजिकरण गर्नु भएको थियो ।

कार्यक्रममा आमा समूहका सदस्यहरुलाई जीवन विज्ञान केन्द्र स्याङ्जाले योग, ध्यान, सकरात्मक सोच लगायतका विषयमा प्रशिक्षण गरिने कार्यक्रम रहेको छ ।

कार्यक्रमले आमा समूहलाई केवल सामाजिक कार्यक्रम सञ्चालन गर्ने समूह मात्र नभई समुदाय विकासको साझेदार संस्था, सरकारको सहकार्यकर्ता तथा महिला सशक्तिकरणको महत्वपूर्ण माध्यमका रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा राखिएको छ ।

कार्यक्रम जागृती आमा समूह र जुग्ले आमा समूहको सहकार्यमा भएको थियो भने सिद्वेश्वरी आमा समूह र प्रगतिशील आमा समूहकोका पदाधिकारी र सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा महिला अधिकार र सशक्तिकरण लगायतका विषयमा विभिन्न गीत, कविता, नृत्य राख्ने सहभागिहरुलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

१०० जना भन्दा बढी आमा समूहका महिलाहरु र शिक्षिकाहरु समेत सहभागि भएको कार्यक्रमको सञ्चालन स्मृति काफ्लले गर्नु भएको थियो ।

Google search engine