तोलाकान्त बगाले
वालिङ, १ मङ्सिर ।
नेपाल सरकारले राष्ट्रिय कर दिवसका अवसरमा सिटी एक्सप्रेससहित १६ उत्कृष्ट करदाताहरुलाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९÷८० मा सबैभन्दा धेरै कर तिर्ने करदाताहरु सिटी एक्सप्रेससहितका अन्य करदाताहरु रहेका छन् ।
रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने कम्पनीकारुपमा रहेको सिटी एक्सप्रेस मनी ट्रान्सफर उत्कृष्ट करदाताकोरुपमा नेपाल सरकारबाट सम्मानित हुन पाउँदा खुसी लागेको कम्पनीका अध्यक्ष एवम् वरिष्ठ समाजसेवी, उद्यमी डोलराज शर्मा पंगेनीले बताउनुभयो ।
“कम्पनीले वर्षभरीमा गरेको कारोबारका आधारमा नेपाल सरकारलाई धेरै कर तिर्ने कम्पनीकोरुपमा सिटी एक्सप्रेसलाई स्थापित गर्न सफल भएका छौं” उहाँले भन्नुभयो, “वैधानिक तरिकाले सरकारलाई कर तिरेर सम्मान प्राप्त गर्नु गौरवको कुरा हो ।”
नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले शनिबार एक समारोहकाबीच सम्मान गर्नुभएको हो । कम्पनीकातर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र टण्डनले सम्मान पत्र ग्रहण गर्नुभएको थियो ।
सबैभन्दा बढी आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । एकलौटी फर्ममध्ये सबैभन्दा बढी आयकर दाखिला गरेबापत श्रुति ट्रेडर्सलाई पनि सम्मान गरिएको छ ।
वस्तु निर्यात कारोबार गर्ने कम्पनीतर्फ सबैभन्दा बढी आयकर डाबर नेपाल, सूचना प्रविधि सेवा निर्याततर्फ कोडावतार टेक, कृषि एवं पशुपन्छी क्षेत्रतर्फ बढी आयकर पतञ्जलि आयुर्वेद, बैंक वित्तीय संस्था र बीमाको कारोबार गर्ने कम्पनीतर्फ नविल बैंक लिमिटेडलाई सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा सम्मान गरिएको छ ।
स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेड, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल लिमिटेड, वस्तु व्यापार गर्ने कम्पनीमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोरलाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरिएको छ । गत आर्थिक वर्षमा रु ५० करोड देखि रू एक अर्बसम्मको कारोबार गर्ने कम्पनीतर्फ सिडिएस एन्ड क्लियरिङ लिमिटेड उत्कृष्ट करदाताकारूपमा सम्मानित भएको छ ।
ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी, व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने करदाताकारूपमा राजबहादुर शाह सम्मानित हुनुभएको छ । विसं २०७५ साउन देखि २०८१ असार मसान्तसम्म तोकिएको समयमा नियमित र सबैभन्दा बढी मूल्य अभिवृद्धि कर तिर्ने कम्पनीकारूपमा होङ्सी शिवम सिमेन्टलाई सरकारले सम्मान गरेको छ ।
वार्षिक रु ५० करोडसम्म कारोबार गर्ने करदातामध्ये सोल्टी इन्टरप्राइजेज र विशेष उद्योगतर्फ सबैभन्दा बढी आयकर दाखिला गरेबापत वरुण वेभरेजलाई सम्मान गरिएको छ । कर दिवसका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालयहरू पनि सम्मानित भएका छन् ।