बिकेनन् काठका भाँडाकुँडा

0
119
Google search engine

वालिङ, ८ बैशाख
पछिल्लो समयमा बजारमा आएका प्लास्टिक र सिलोटका भाँडाले काठका भाँडाकुँडा बिक्री घट्दै गएको छ । स्याङ्जाको चापाकोट ९ चोसीका लीलबहादुर कामीले ‘कुशल भाँडा उद्योग’ दर्ता गरी ब्यावसायिकरुपमा काठका सामग्री उत्पादन गर्दै आउनुभएको छ । उत्पादन गरेका काठका भाँडा बिक्री नभई झण्डै पाँच लाखका सामग्रीहरु आँफूसित गोदाममा रहेको उहाँ दावी गर्नुहुन्छ । “पहिला–पहिला जस्तो आजभोलि काठका भाँडाकुँडाहरु बिक्दैनन्” उहाँले भन्नुभयो, “प्लास्टिक र सिलोटका भाँडाहरु काठका भाँडाका तुलनामा सस्तो हुन्छन् ।” पछिल्लो समयमा काठका भाँडाको महत्वकाबारेमा थाहा नभएकाले पनि उपभोगमा कमि आएको हुनसक्ने उहाँको दावी छ । गाउँ घरमा पहिला गाईभैंसी पाल्ने र काठको ठेकीमा दही जमाउने, काठकै ठेकामा मोही पार्ने, घ्यू बिक्री गर्ने चलन भएता पनि आजभोलि गाईभैंसी पाल्न छाडेकाले पनि यसको प्रयोग घट्दै गएको हो । बजारमा आएका सस्तो र आधुनिक सामग्रीहरुको प्रयोगकाकारण पनि काठका भाँडाकुँडाको प्रयोग घट्दै गएको हो । “आँफूले उत्पादन गरेका विभिन्न काठका भाँडाहरु काठमाडौं, पोखरा, बुटवल लगायतका ठूला बजार तथा गाउँमै माग धेरै हुँदा पु¥याउन सकिन्नथ्यो” उहाँले भन्नुभयो, “अहिले भने उत्पादन गरेर राखिएका काठका विभिन्न भाँडाकुँडामात्रै झण्डै पाँच लाख मुल्यको गोदाममा थन्किएको छ ।” आफ्नो उद्योगमा उहाँसहित अन्य सात जनाले रोजगारीसमेत पाएका छन् । आफ्नो आम्दानीको मुख्य स्रोतकोरुपमा रहेको यो पेशा नयाँ पुस्तामा हस्तान्तरण गर्न नसक्दा उहाँ चिन्तित हुनुहुन्छ । युवा पुस्ताहरु रोजगारीका लागि विदेश जाने वा अन्य पेशामा लाग्ने गरेकाले पनि सीप पुस्तान्तरण हुन नसकेको उहाँले बताउनुभयो । उत्पादन भएका सामग्रीहरु बिक्री नभएपछि अहिले चाडपर्व लाग्ने मेलाहरु, महोत्सवहरुमा लगेर प्रदर्शन तथा बिक्री गर्दै आउनुभएको छ ।
उमेरले ६० वर्ष पुग्नुभएका कामी आँफू जान्ने भएदेखि अहिलेसम्म निरन्तररुपमा काठका भाँडाकुँडा बनाएर जीविकोपार्जन गर्दै आउनुभएको छ । साँचो र लोताको प्रयोग गरी काठका विभिन्न भाँडाकुँडा बनाउन उहाँले आफ्नै बाबु बाजेहरुहरुबाट सिक्नुभयो । आम्दानीको मुख्य स्रोतकोरुपमा काठको ठेका, ठेकी, मदानी, अंखरा, कचौरा, गिलास, थाल लगायतका सामग्रीहरु निर्माण गर्दै आउनुभएको छ । आधुनिक यन्त्र उपकरण, औजारहरु भित्रिएतापनि उहाँले पुरानै शैलीका साँचो र लोताको प्रयोग गरेर सामग्री उत्पादन गर्नुहुन्छ । आधुनिक औजारहरुले सहजता हुनुकासाथै थोरै जनशक्तिबाट पनि छिटो काम सकिन्छ तर उहाँ पुरानै औजारहरुको प्रयोग गरेर कडा परिश्रमसहित सामग्रीहरु उत्पादन गर्नुहुन्छ ।

Google search engine
Google search engine