वालिङ, १७ बैशाख ।
स्याङ्जाको वालिङमा सञ्चालन गरिएको एक हप्ते चुरापोते तथा डलकुशन बनाउने तालीम बुधबार सम्पन्न भएको छ । वालिङ उद्योग वाणिज्य संघको आयोजना तथा वालिङ नगरपालिकाको आर्थिक सहयोगमा तालिम प्रदान गरिएको हो । उद्यमउन्मुख महिलाहरुका लागि लक्षित गर्दै आयोजना गरिएको उक्त तालिम गत बिहीबारदेखी सञ्चालन भएको थियो ।
समापनका अवसरमा बोल्दै वालिङ नगरपालिका कार्यपालिक सदस्य युगमाया पंगेनीले तालिम लिईसकेपछि सिकेको सीपलाई ब्यवहारमा उतार्नुपर्ने बताउनुभयो । साथै उहाँले महिलाहरु उद्यमशील बनी आयआर्जनमा जोडिनुपर्ने भन्दै यसबाट महिलाहरु आत्मनिर्भर बन्न सक्ने बताउनुभयो । पंगेनीले नगरपालिकाले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न पैँचो कार्यक्रम लगायत विभिन्न संघसंस्थाहरुसँग समझदारी गरी अघि बढ्न लागेकोले यहाँहरुले उत्पादन गर्ने बस्तुको बजार ब्यवस्था गर्न तत्पर रहेको उहाँको भनाई थियो ।
यस्तै संघका अध्यक्ष चेतनारायण श्रेष्ठले संघबाट विभिन्न समयमा यहाँहरुको माग बमोजिमका विभिन्न तालिमहरु सञ्चालन गर्दै आईरहेको र वालिङ नगरपालिका लगायत विभिन्न निकायहरुसँगको सहकार्यमा आगामी दिनमा पनि विभिन्न कार्यक्रमहरु गर्न संघ प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा महिला उद्यमी विकास समितिका उपाध्यक्ष पार्वती पंगेनी, सचिव सीता ढुङ्गाना अधिकारी, कोषाध्यक्ष सावित्रा रेग्मी लगायतले बोल्नुभएको थियो । संघका अध्यक्ष चेतनारायण श्रेष्ठको अध्यक्षता सम्पन्न भएको तालिमको बरिष्ठ उपाध्यक्ष अनुपमा तिवारीले स्वागत र कार्यक्रम सञ्चालन महासचिव रमेश अर्यालले गर्नुभएको थियो । तालीममा २४ जना महिलाहरुको सहभागिता रहेको थियो ।






