वालिङ, १५ बैशाख ।
स्याङ्जाको चापाकोटमा चापाकोट क्रिकेट लीग २०८३ हुने भएको छ । चापाकोट नगर क्रिकेट संघको आयोजना तथा चापाकोट नगरपालिकाको संरक्षकत्वमा यही बैशाख २६ देखि जेठ २ गतेसम्म गंगालाल माविको खेलमैदानमा लीग सञ्चालन हुने भएको हो । आईसिसीको नियम अनुसार खेलाईने उक्त लीगमा प्रथम हुनेले रु. एक लाख १० हजार र द्वितीय हुने समूहले रु. ६० हजार नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक चापाकोट क्रिकेट संघका अध्यक्ष प्रेमनारायण रेग्मीले जानकारी दिनुभयो । पाँच समूहको सहभागिता रहने उक्त प्रतियोगिता टिट्वान्टी राउण्ड रोविन फम्र्याटमा खेलाईने भएको हो ।
“क्रिकेट खेलप्रति पछिल्ला वर्षहरुमा किशोर किशोरी तथा युवायुवतीहरुको आकर्षण बढ्दै गएको छ” उहाँले भन्नुभयो, “स्थानीयस्तरमै क्रिकेट प्रतियोगिता सञ्चालन गरी लुकेर रहेका प्रतिभाहरुको प्रतिभा प्रष्फुटनमा सघाउ पुग्ने र भोलिका दिनमा यसैबाट भविष्य निर्माण गर्न सक्ने लक्ष्य र उद्देश्यसहित लीग सञ्चालन गर्ने तयारी गरेका हौं” खेलाडीहरुको छनोट अक्सनमार्फत गरिने भएको छ । हरेक टिमले टिम चयन गर्दा मार्की खेलाडी पहिले नै चयन गर्नुपर्ने छ । मार्की खेलाडी चयन गर्दा दर्ता भएकै खेलाडीहरुबाट चयन गर्नुपर्ने नियम बनाईएको छ । कुनैपनि टिमले मार्की खेलाडीकालागि रु. ५ हजार, ए, बी र सी को अधिकतम मूल्य क्रमशः ४ हजार, ३ हजार ५ सय र दुई हजार ५ सय सम्म तोकिएको उहाँले जानकारी दिनुभयो ।
एउटा टिमले रु. ५० हजारबाट कम्तिमा पनि १५ जना खेलाडी खरिद गर्नुपर्ने छ । जसमा ३ जना ए बाट, ५–५ जना बी र सीबाट हुनुपर्नेछ भने धेरैमा १८ जनासम्म खेलाडी रहने व्यवस्था आयोजकले मिलाएको छ । १८ जनाको खेलाडी समूहमा १ जना अण्डर १६ र १ जना अण्डर १९ उमेर समूहको खेलाडी समावेश हुनुपर्नेछ । बाहिरी खेलाडी ५ जना सुरुमै ११ मै हुनेछन् भने ८ जना खरिद गर्न पाईने छ । हरेक टिममा एक जना राष्ट्रिय÷अन्तर्राष्ट्रिय स्तरको नेपाली खेलाडी पनि समावेश गर्न पाउने छन् । प्रतियोगितामा चापाकोट र रामपुर नगरपालिकाका खेलाडीहरुलाई घरेलु खेलाडीको सूचिमा समावेश गर्ने तयारी भईरहेको छ ।





