वालिङ, १५ बैशाख ।
गण्डकी प्रदेश सरकार अन्तर्गतको एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा सञ्चालन भएको सारंगी बजाउने तालिम सम्पन्न भएको छ । जेष्ठ नागरिकमा रहेको ज्ञान सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण कार्यक्रम अन्तर्गत सारङ्गी बजाउने १० दिने सीपमूलक तालिमको आयोजना गरिएको थियो । पूर्व मन्त्री एवम् गण्डकी प्रदेश सभा सदस्य सिता कुमारी सुन्दासले गन्धर्व जातीको मौलिक बाजा सारङ्गी नेपाली संस्कृति र परम्पराको अमूल्य सम्पत्ति भएकाले यसको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरण महत्वपुर्ण पक्ष भएको बताउनुभयो । ारङ्गीको संगीतले बालबालिकामा सृजनशीलता, धैर्यता र एकाग्रता सँगै भावनात्मक विकासमा पनि सकारात्मक प्रभाव पारी उनीहरूलाई संवेदनशील र जिम्मेवार नागरिक बनाउन सहयोग गर्ने विश्वास उहाँको छ ।
प्रशिक्षक सुर्यमान गन्धर्वले सारङ्गी बजाउने सीप बालबालिकामा हस्तान्तरण गर्नु केवल कला सिकाउनु मात्र नभई संस्कृति, पहिचान र मूल्यहरूलाई जोगाउने महत्वपूर्ण कार्य भएको बताउदैँ सिकेको सिपलाई निरन्तरतासँगै जीवनउपयोगी बनाउन बालबालिकाहरुलाई सुझाव दिनु भयो ।
एकीकृत सेवा कार्यालय प्रमुख जीवन पौडेलले जेष्ठ नागरिक र बालबालिकाबीच सीप साटासाट हुँदा आपसी माया, सम्मान र समझदारी बढ्ने बताउनुभयो । साथै उहाँले परिवार र समाजमा सद्भाव कायम गर्न मद्दत पु¥याउँदै बालबालिकालाई भविष्यमा कलाकार बन्न सहयोग गर्ने, सामाजिक मूल्य र अनुभव हस्तान्तरण हुन यस्ता तालिमहरुको आयोजना गरिएको प्रमुख पौडेलले बताउनुभयो ।
कार्यक्रममा पुतलीबजार १३ का अध्यक्ष जुद्धबहादूर थापा, राष्ट्रिय संगीत कर्मी संघ स्याङ्जा अध्यक्ष बुद्धी परियार, संगीतकर्मी दूधप्रसाद नेपाली सहित अन्य सरोकारवालाहरुले ‘नेपाली जनताको भावनात्मक सम्बन्धलाई सारङ्गीको धुनले माथि उठाउन सहयोग पुर्याएको भन्दै प्रशंसा गर्नुभयोे । २० जना बालबालिकाहरुले लगातार १० दिन सम्म पुतलीबजार नगरपालिका स्थित लामपाटामा मौलिक भाकामा धुन निकालेर सङ्गीत पारखीको मन जितेका थिए । उनीहरुले गन्धर्व जातीका कर्खा, सवाई, चरित्र, चाँचरी, मंगलधुन, बाह्रमासे गीत, घटनाप्रधान गीतहरुमा सारङ्गी बजाएका थिए । सहभागीहरुलाई प्रमाणपत्र र उनीहरुको टोलमा सारङ्गी हस्तान्तरण गरिएको कार्यालयले जनाएको छ । नेपालमा गन्धर्व जातीमा प्रचलित सारङ्गी एक मुख्य तार बाजा हो । यसलाई बजाउन धनुको प्रयोग हुन्छ । सङ्गीतका स्वरलाई आलङ्कारिक रूपले प्रस्तुत गर्न सारङ्गीको प्रयोग गरिन्छ ।
सूचना मूलक सन्देशहरु सारङ्गीको तालमा गीत गायर गाउँघरमा पुयार्ने मात्रै होइन, नेपाल र नेपालीको सुख–दुख, आँशु हाँसो,पीर व्यथाका भाव पोख्दै आफ्नो मातृभूमिको महिमापूर्ण गीत सुमधुर सारङ्गीको धुन बज्ने गाउँघर र बजारमा अहिले त्यस्ता दृश्य कमै मात्र देख्न पाइन्छ । अझ नयाँ पुस्ताले यस प्रति चासो दिन छाडेपछि कार्यालयले पछिल्लो पुस्तालाई यसको महत्व सँगै सीप सिकाउन कार्यक्रम आयोजना गरिएको एकीकृत सेवा कार्यालयले जनाएको छ ।






