आरती कुँवर
वालिङ, २७ चैत ।
स्याङ्जाको वालिङमा नयाँ वर्ष २०८३लाई लक्षित गरी प्रथम एक्स्पो शुरु भएको छ । ओमकार इभेन्ट हब वालिङको आयोेजनामा वालिङ, ८ खेलमैदानमा बिहीबारदेखि एक्सपो शुरु भएको हो । नयाँ वर्षलाई एउट पर्वको रुपमा मनाउने तथा स्याङ्जाका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरुको प्रर्वद्धन गर्ने उद्देश्यले एक्स्पो पर्वको आयोजना गरिएको हो ।
बिहीबार एक्स्पोको उद्घाटन गर्दै वालिङ नगरपालिका नगरप्रमुख कृष्ण खाँणले स्याङ्जका विभिन्न धार्मिक ऐतिहासिक महत्वका स्थलहरुको प्रर्वद्धन गर्न यस प्रकारका मेला महोत्सवले टेवा पु¥याउने भन्दै मेला तथा महोत्सवहरुले यहाँको आर्थिक चलायमानमा महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । नेपाली नयाँवर्षलाई पनि धुमधामका साथ मनाउने अभियानको शुरुवात गरेको भन्दै यसले सकारात्मक सन्देश जाने उहाँको भनाई छ ।
कार्यक्रममा समाजसेवी डोलराज शर्मा, नेपाली काँग्रेसका नगर सभापति नेत्रप्रसाद पाण्डे, नेकपा एमालेका नगर अध्यक्ष शोभाकान्त पौडेल, नेपाली कम्युनिष्ट पार्टीका नगर अध्यक्ष भक्त गोतामेलगायतले बोल्नुभएको थियो ।

एक्स्पोका संयोजक तथा इभेन्ट हबका अध्यक्ष मल्लले नयाँ वर्षमा गरिएको यो मेलाले यहाँका धार्मिक तथा ऐतिहासिक महत्वलाई प्रचारप्रसार गर्दै नेपाली नयाँ वर्षलाई उत्सवका रुपमा मनाउने परिपाटीको विकास गर्ने प्रयास गरिएकोे बताउनुभयो ।
ओमकार इभेन्ट हबका अध्यक्ष तथा एक्स्पोका संयोजक विजय मल्लको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत दिप गुरुङ ९छिरीङ०ले र सञ्चालन ओमकार इभेन्टहबका प्रबन्धक नवराज पौडेलले गर्नुभएको थियो ।
एक्स्पोमा हरेक दिन ख्याति प्राप्त कलाकारहरुले विषेश प्रस्तुति दिनेछन् भने साँझ हरेक दिन लाईभ कन्र्सट हुनेछ । एक्स्पोमा यहाँका धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलहरुको वृत्तचित्र समेत प्रस्तुत गरिँदैछ भने लागू औषध सम्बन्धी सचेतना कार्यक्रम समेत सञ्चालन हुने एक्स्पो आयोजकले जनाएका छन् ।
एक्स्पोमा स्थानीय होटल व्यवसायीलाई ३० प्रतिशत छुट दिइएको छ भने कृषि र उद्यमीलाई ३० वटा स्टल निशुल्क उपलब्ध गराईएको छ ।
१५० वटा स्टल रहेको एक्स्पोमा चैत्र ३० गते राति १ बजेसम्म सांगितिक कार्यक्रम सहित नयाँ वर्ष २०८३ लाई स्वागत गरिने अनुमति प्रशासनबाट लिईएको प्रबन्धक नवराज पौडेलले बताउनुभयो । नयाँ वर्ष स्वागतका दिन आतिस बाजी प्रर्दशन गरिनेछ भने ओँम लेखिएको दृष्य आकासमा देख्न सकिने आयोजकले जनाएका छन् ।
एक्स्पोमा मौलिक खाना, कृषि तथा ताजा तरकारी प्रदर्शन, हस्तकला प्रर्दशनी,सूचना प्रविधि तथा शैक्षिक सामाग्री प्रर्दशनी गरिनेछ भने टिकटक प्रतियोगिता समेत रहनेछ । मेलामा प्रवेश शुल्क १००, विद्यार्थीहरुका लागी ७० र बेलुका हुने कन्र्सटको लागी ३०० शुल्क तोकिएको छ । एक्स्पो बैशाख २ गते सम्म सञ्चालन हुनेछ । एक्स्पोको आज दोस्रो दिन राजन कार्की, आस्था राउतको समुह तथा द स्याडोज ब्याण्डको विशेष लाइभ कन्सर्ट रहनेछ ।






