स्याङ्जामा सात क्षयरोगीको मृत्यु

0
63
Google search engine

वालिङ, ११ चैत ।
स्याङ्जामा यसवर्ष ७ जना क्षयरोगीको मृत्यु भएको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को फागुन मसान्तसम्ममा स्याङ्जामा ७ जना क्षयरोगीका बिरामीले ज्यान गुमाएका प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख केशवप्रसाद चापागाईले बताउनुभयो । विशेषगरी फोक्सोका बिरामी, धुम्रपान गर्ने ब्यक्तिहरु, लागु पदार्थ सेवन गर्ने ब्यक्तिहरु, श्वास प्रश्वासका दीर्घ रोगीहरु, शरीरको प्रतिरक्षा शक्ति कम भएका र उमेर ढल्केका ब्यक्तिहरुमा बढी जोखिम भई मृत्यु हुने गरेको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षमा स्याङ्जा जिल्लाका ११ स्थानीय तहमध्ये सबैभन्दा धेरै पुतलीबजार नगरपालिकामा ४ जनाको मृत्यु भएको हो । वालिङ नगरपालिका, गल्याङ नगरपालिका र आँधीखोला गाउँपालिकामा १÷१ जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
जिल्लामा चालु आर्थिक वर्षमा एक सय ९७ जना क्षयरोगीका बिरामी उपचाररत छन् । जसमध्ये सबैभन्दा धेरै वालिङ नगरपालिकामा ४४ जना रहेका छन् । चापाकोट नगरपालिकामा ३७ जना, भीरकोट नगरपालिकामा ३१ जना, गल्याङ नगरपालिकामा २८ जना, पुतलीबजार र बिरुवा गाउँपालिकामा १६÷१६ जना, अर्जुनचौपारी गाउँपालिकामा १० जना, कालीगण्डकी गाउँपालिकामा ७ जना, फेदीखोला गाउँपालिकामा ४ जना, आँधीखोला गाउँपालिकामा ३ जना र हरिनास गाउँपालिकामा १ जना क्षयरोगीका बिरामी उपचाररत रहेका छन् । दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लागिरहनु, बेलुकीपख हल्का ज्वरो र पसिना आउने, खाना खान मन नलाग्ने, छाती दुख्ने, स्वास फेर्न गाह«ो हुने, चाँडै थकाई लाग्ने, तौल घट्दै जाने, खकारमा रगत देखिने जस्ता क्षयरोगका लक्षणहरु रहेको उहाँले बताउनुभयो ।
यस्ता लक्षणहरु देखिएमा नजिकैको स्वास्थ्य संस्थामा गई चिकित्सकसित परामर्श लिन पनि उहाँले आग्रह गर्नुभएको छ । “क्षयरोग एक सरुवा रोग हो जुन माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस भन्ने आँखाले देख्न नसकिने सुक्ष्म किटाणुबाट लाग्ने गर्छ” उहाँले भन्नुभयो, “एक ब्यक्तिबाट अर्को ब्यक्तिमा श्वास प्रश्वासको माध्यमबाट सर्ने गर्छ तर क्षयरोगका किटाणुबाट प्रभावित भएका सबै ब्यक्तिलाई क्षयरोग लाग्दैन, रोगसँग लड्ने क्षमता भएका ब्यक्तिहरुमा रोग लाग्दैन ।” गत आर्थिक वर्ष २०८०÷०८१ मा स्याङ्जा जिल्लामा तीन सय १३ जना क्षयरोगीका बिरामीहरु रहेका थिए ।

Google search engine
Google search engine