वालिङ, १६ असार ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले विपदप्रति सचेत रहन जिल्लावासीहरुलाई आग्रह गरेको छ । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको असार १४ गते प्रकाशित सूचना अनुसार स्याङ्जा जिल्लामा असार १६ र १७ गते भारी वर्षाको संभावना रहेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको हो ।
बाढी पहिरोजस्ता विपदबाट हुनसक्ने संभावित जोखिम न्यूनिकरण गरी जनधनको क्षति हुन नदिनकालागि प्रशासनले जिल्लावासीहरुलाई सचेत गराएको हो ।
गण्डकी प्रदेशको स्याङ्जासहितका पहाडी भूभागलगायत विभिन्न क्षेत्रमा मनसुनी गतिविधि बढ्न गई मेघगर्जन÷चट्टयाङसहित भारी वर्षा तथा खोलानालाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले खोला किनारहरुमा नजान सचेत गराईएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रशासकीय अधिकृत सुर्यप्रसाद शर्माले बताउनुभयो ।
भिराला जमिनहरुमा धाँजा फाट्ने, पहिरो जान सक्ने अवस्था रहेकाले सबैले सतर्कता अपनाई सुरक्षित रहनुहुन तथा संभावित जोखिमयुक्त स्थानका बासिन्दाहरुले विशषेगरी रातको समयमा सावधानी अपनाई वैकल्पिकरुपमा बस्ने व्यवस्थासमेत मिलाई सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ ।
वर्षात् र चट्टयाङका समयमा अग्लो रुखमुनि ओत नलाग्न, नदी, खोला, खोस्ता ताल वा बाढी आएको क्षेत्रमा नजान, बाढीयुक्त क्षेत्रमा पैदलयात्रा तथा सवारी यात्रा नगर्न, पहिरोको जोखिम भएका भीर ढिस्को वा कमजोर जमिन नजिक नबस्ने, नजिकको सुरक्षित स्थानमा स्थानान्तरण हुन पनि आग्रह गरेको छ ।
त्यस्तै बिजुलीका पोल, ट्रान्सफर्मर, टावर वा झरेका विद्युत तारको नजिक नजाने, मोबाईल फोन चार्जमा राखेर प्रयोग नगर्ने, तार भएको टेलिफोन तथा अनावश्यक विद्युतीय उपकरण प्रयोग नगर्ने, माछा मार्ने पौडी खेल्न खोलामा नजान जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आग्रह गरेको छ । वर्षात् तथा चट्टयाङका समयमा कुनै आपतकालीन समस्या आईपरेमा २४ सै घण्टा जिल्ला प्रशासन कार्यालय स्याङ्जा, जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र स्याङ्जामा सम्पर्क गर्न पनि प्रशासनले जिल्लावासीहरुमा आग्रह गरेको छ ।





