वालिङ बजारका अव्यवस्थित तार हटाउन सुरु

0
34
Google search engine

वालिङ, १६ असार ।
अव्यवस्थित तारहरुले बजारलाई कुरुप बनाईरहेका बेला यहाँका सेवाप्रदायकहरुले अव्यवस्थित तार हटाउन थालेका छन् । बजारका मुख्य चोक तथा सडक किनारामा जथाभावी टाँगिएका बिजुली, इन्टरनेट, केवल टिभीका तारहरु हटाएर व्यवस्थित गरिएको हो ।

Google search engine

विशेषगरी वालिङ क्षेत्रमा सेवा दिंदै आएका सात वटा सेवाप्रदायक कम्पनीहरुको संयुक्त पहलमा तार व्यवस्थापन थालिएको वालिङ इन्टरनेट कम्पनीका सञ्चालक जोगराज पाठकले बताउनुभयो ।

विद्युतका पोलैपिच्छे गुजुल्टो बनाएर राखिएका प्रयोगविहिन तारहरु हटाउने र प्रयोगमा रहेका तारहरुलाई एउटै मुठो बनाएर बाँधेर व्यवस्थित गरिएको उहाँले बताउनुभयो ।

“बजारमा तारै तारको जालोले सौन्दर्यकरणमा असर पु¥याएकाले हामी सेवाप्रदायकहरु एकजुट भएर व्यवस्थित गर्ने अभियानमा अगाडि बढेका हौं” उहाँले भन्नुभयो, “पोलमा झुण्ड्याएर राखिएका तारहरु, प्रयोगविहिन अवस्थामा रहेका पुराना तारहरु हटाएका छौं र प्रयोगमा भएका छरिएर रहेका तारहरुलाई एउटै मुठो बनाएर व्यवस्थित गरेका छौं ।”

अव्यवस्थित र प्रयोगविहीन तारहरु जथाभावी छोड्दा तारको अत्याधिक भारकाकारण पोलहरुमा आगलागीका घटनाहरु पनि भएका छन् । सडकमा लत्रिएका तारहरुलाई व्यवस्थित गरी ठूला सवारी साधनहरुलाई पनि सहज हिंड्न मिल्ने बनाउने गरी काम भईरहेको उहाँले बताउनुभयो । विभिन्न सेवा प्रदायक कम्पनीका पाँच हजारभन्दा बढी इन्टरनेट प्रयोगकर्ताहरु वालिङ क्षेत्रमा रहेका छन् ।

असार १ गतेदेखि तार व्यवस्थित गर्ने अभियान थालिएको र यो अभियान असार मसान्तसम्म जारी रहने वेभ सर्भर कम्पनीका सञ्चालक राजन श्रेष्ठले बताउनुभयो । वालिङ क्षेत्रमा सेवा दिने हाल सात वटा सेवा प्रदायक कम्पनीहरुमा कार्यरत प्राविधिकहरुको सहयोगमा तार व्यवस्थित गरिंदै आएको उहाँले बताउनुभयो ।

“दैनिक १५–२० जना प्राविधिकहरु तार व्यवस्थित गर्ने काममा निरन्तर लागिरहेका छन्” उहाँले भन्नुभयो “अव्यवस्थित अवस्थामा रहेका तारहरुलाई हटाएर बजारको सुन्दरता कायम राख्ने र आगलागीको जोखिम न्यूनिकरणमा पनि सहयोग पुग्ने विश्वास लिएका छौं ।”यसअघि वालिङ नगरपालिकाले बजारको सौन्दर्यकरणमा चासो राख्दै अव्यवस्थित तारहरुलाई व्यवस्थितगर्नकालागि इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन दिएको थियो ।

Google search engine