स्याङ्जामा आरोग्य यात्रा: स्वास्थ्य र पर्यटनमा टेवा पुग्ने विश्वास

0
1
Google search engine

वालिङ, १४ असार ।

Google search engine

स्याङ्जामा पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा शारिरीक र मानसिक स्वास्थ्यको लागि आरोग्य पर्यटन यात्रा गरिएको छ । गण्डकी प्रदेश एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजना तथा जीवन विज्ञान स्याङ्जाको समन्वयमा कार्यक्रम भएको हो ।

जिल्ला समन्वय समिति स्याङ्जाका उपप्रमुख खडकराज सुवेदीले मानसिक स्वास्थ्यको लागि पारिवारिक वातावरण राम्रो हुनु पर्ने र सकरात्मक सोच बताउनु पर्ने उल्लेख गर्दै स्याङ्जाको पर्यटकीय क्षेत्रको विकास र विस्तारमा आरोग्य पर्यटन यात्राले थप टेवा पुर्याउने विश्वास व्यक्त गर्नु भयो ।

पुतलीबजार नगरपालिका उमप्रमुख देवी अर्यालले मानिसमा आत्मविश्वास, उत्साहसङ्गै व्यक्ति कठिन परिस्थितिमा पनि सहजता र सकारात्मकता राख्न यस किसिमको कार्यक्रमले सहयोग गर्ने बताउनुभयो । उहाँले शारिरीक, मानसिक र भावनात्मक स्वास्थ्यलाई आरोग्य पर्यटनसँग जोड्नु पर्ने बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेले मानिसको जीवनशैली, शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक र पारिस्थितिक कल्याणलाई आपसमा साटासाट गर्दै निरोगी जीवन र समाज बनाउन यस किसिमको कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । उहाँले छिमेकी देश भारतसँगै आन्तरिक पर्यटकको लागि स्याङ्जाका पर्यटकीय क्षेत्रमा आरोग्य पर्यटनको लागि उपयुक्त रहेको हुदाँ सबै क्षेत्रको हातेमालोद्धारा स्याङजालाई पर्यटकीय जिल्लाको रुपमा विकास गर्न सकिने विश्वास व्यक्त गर्नु भयो ।

एकीकृत सेवा कार्यालय स्याङजाका प्रमुख जीवन पौडेलले योग, आयुर्वेद, ध्यान र आध्यात्मिक अभ्यासजस्ता मौलिकतालाई प्रभावकारी रूपमा प्रवर्द्धन गर्दै नेपालको अपार जैविक विविधता, यहाँका अमूल्य जडीबुटी, अतुलनीय प्राकृतिक सम्पदालाई एकसाथ विश्वमाझ विचरण गराउने क्षमता राख्ने भएकाले भावी पुस्ताकै लागि अनुपम उपहार साबित हुने विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा प्रशिक्षक सिर्जना पौडेलले महँगो जीवनशैली, बढ्दो प्रतिस्पर्धा, सामाजिक–आर्थिक दबाब तथा विभिन्न तनावको कारण मानसिक समस्या बृद्धि भएको हुदाँ सन्तुलित आहारा, नियमित योग, सकरात्मक सोच,आपसी सहयोगले मानसिक स्वास्थ्य सबल बनाउन सकिने बताउनु भयो ।

कार्यक्रममा जीवन विज्ञानका प्रशिक्षक दिपक लम्साल, राधा अर्याल र निर्मला लम्सालले योग, ध्यान र सकरात्मक चिन्तनबारे प्रशिक्षण दिनुभएको थियो ।

स्याङ्जा सदरमुकाम देखी पुतलीबजार नगरपालिकाको कोल्मा सम्म शारिरीक र मानसिक स्वास्थ्य, सुख, शान्ति र समृद्धिको लागि आरोग्य पर्यटन भन्ने मूल नाराको साथ पैदल यात्रा गरी त्यस क्षेत्रको प्राकृतिक र पर्यटकीय क्षेत्रमा घुम्नको लागि सन्देश प्रवाह गरिएको थियो ।

एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शाखा अधिकृत पार्वती भट्टले सञ्चालन गर्नु भएको थियो ।

यस कार्यक्रमले स्वास्थ्यलाई केवल रोगको अनुस्थिति मात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा वातावरणीय सन्तुलनका रूपमा परिभाषित गर्दै ‘समग्र आरोग्य’ अवधारणालाई विश्वस्तरमा सुदृढ बनाउन टेवा पुर्‍याउने सहभागिहरुले विश्वास लिएका थिए ।

Google search engine