वालिङ, २२ असार ।
स्याङ्जाको वालिङ खेलमैदानमा सम्पन्न भएको श्याम स्मृति फुटबल प्रतियोगिताको आयव्याय सार्वजनिक गरिएको छ । वालिङ युवाक्लबको आयोजनामा भएको फुटबल प्रतियोगितामा भएको आयव्याय विवरण आयोजकले एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेको हो । प्रतियोगिता अवधिभर कूल आम्दानी १५ लाख ९ हजार २७४ भएको थियो भने उक्त प्रतियोगितामा कूल ९ लाख ८४ हजार ८५ रुपैयाँ खर्च भएको प्रतियोगिताका आर्थिक व्यवस्थापन संयोजक सुरेश श्रेष्ठले जानकारी गराउनुभयो । प्रतियोगिताबाट कूल ५ लाख २५ हजार १८९ रुपैयाँ वचत भएको छ । वचत भएकोबाहेक अझै झण्डै २ लाख उठ्न बाँकी रहेको उहाँले बताउनुभयो ।
खर्चहरुमा पुरस्कारमा २ लाख, खेलाडीहरुको व्यवस्थापन तथा भत्तामा २ लाख ९३ हजार, अफिसियल खर्च १ लाख ७ हजार, मायाको चिनो तथा उपहारमा १ लाख ५६ हजारलगायतका खर्चहरु रहेका उहाँले बताउनुभयो ।

आम्दानीतर्फ वालिङ नगरपालिकासहित विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट सहयोग प्राप्त भएको भएको आयोजक क्लबका कोषाध्यक्ष अहमत अलीले बताउनुभयो ।
प्रतियोगितालाई सभ्यरुपमा सम्पन्न गर्नकालागि विभिन्न क्षेत्रबाट सहयोग गर्ने सम्पूर्ण सहयोगीहरुप्रति अध्यक्ष केशरबहादुर थापा राजनले धन्यवादन ज्ञापन गर्नुभएको छ । उहाँले सहयोगीदाताहरुले कार्यक्रमलाई सफल बनाउनकालागि गर्नुभएको सहयोगप्रति आभार व्यक्त गर्दै प्राप्त रकमको सही सदुपयोग गरेको बताउनुभयो । खर्चमा मितव्ययिता अपनाएर वचत भएको रकमबाट वालिङ खेलमैदानमा ज्येष्ठ नागरिकहरुकालागि वृद्धवृद्धामैत्री खुल्ला व्यायामशाला निर्माण गर्ने तयारीमा रहेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

स्याङ्जा जिल्लाकै पुरानो प्रतियोगिताकोरुपमा पहिचान बनाएको श्याम स्मृति फुटबल प्रतियोगिता स्वर्गीय श्याम थापाको स्मृतिमा २०५२ सालबाट सुरु भएको थियो । २०५७ सालसम्म सञ्चालनमा रहेको उक्त प्रतियोगिता विविध कारणवश नियमित हुन सकेको थिएन । यसैवर्षदेखि निरन्तरता दिने गरी पुनः प्रतियोगिता शुरु गरिएको अध्यक्ष थापाले बताउनुभयो । जेठ २८ देखि असार १ गतेसम्म सञ्चालन भएको श्याम स्मृति फुटबल प्रतियोगितामा स्याङ्जासहित पाल्पा र पर्वतका १० क्लबहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि आयोजक वालिङ युवाक्लबले जितेको थियो ।





