आशन ग्रहण र भाषण ग्रहणमा कहिलेसम्म लठ्ठिने ?

0
1
Google search engine

तोलाकान्त बगाले

Google search engine

बैकुण्ठ जी ज्यान तान्दै विस्ताराबाट उठ्नुभयो । उठेर आँखा मिच्दै आज दिनभरी कहाँ कहाँ के के कार्यक्रम छन् भनेर सोंच्न थाल्नुभयो । कोट, ज्याकेट, सर्ट, पाईन्टका खल्तीमा निमन्त्रणाकालागि पठाईएका चिठ्ठीहरु हेर्न थाल्नुभयो । अनि यतिमात्रै त हुन नपर्ने आज त धेरै कार्यक्रमहरु भएझंै मान्थे तर चिठ्ठी पत्र त थोरै छन् भनेर सिरानीको मुनी, खाटको पत्रातिर हेर्न थाल्नुभयो । घरका परिवारलाई यहाँ चिठ्ठीहरु ल्याएर राखेको थिएँ देखेनौं भनेर सोध्न थाल्नुभयो । हैन चिठ्ठी त ह्वाट्सएप, म्यासेन्जर, भाईबरहरुमा हाल्दिएकी भनेर सरर्र सर्च गर्न थाल्नुभयो । भौतिकरुपमा प्राप्त भएका चिठ्ठी र ह्वाटस्एप, म्यासेन्जरका सबै निमन्त्रणाहरु हेरिसकेपछि उहाँले त्यो दिनको कार्यक्रमको समय तालिका निर्धारण गरेर क्रम मिलाउन थाल्नुहुन्छ । यस्तै दैनिकी उहाँको हुने गर्छ ।

उहाँलाई लाग्छ, धेरै नै पदमा छु, घरी घरी त लाग्दो हो म नहुने हो भने त यी संघ संस्था अनि यी व्यवस्थाहरु चुर्लुम्मै डुब्छन् । गर्लम्मै ढल्दा हुन् । घर जहान केटाकेटी के खाए ? कसो गरे ? घरको काम धन्दा, भैंसी गोठ, कुडो पानी, दुहुनबाहन अहँ केही मतलब छैन । राति अबेर आयो, कहिले घरमै बनाएर राखेको खाना खायो, कहिले उतै खाएर आयो अनि बिहान फेरि उही दैनिकी कार्यक्रम भन्यो दौड्यो ।

कहिलेकाँही त यति बिजी पनि बन्न पछि नपर्ने, आयोजकले बोलाएनन् भनेपनि अरुमार्फत फोन गर्न लगाएर फलानालाई बोलाउनपर्छ है भोलि सहयोगका कुराहरु पनि होलान् यस्तै यस्तै । होईन कसैलाई नि नबोलाउने हामी–हामी आयोजकले यस्सो कार्यक्रम गरेजस्तो गरेर सक्ने सोंच छ भन्दारहेछन् । त्यो कुरा बैकुण्ठजीसम्म पुगेपछि अब उहाँको पारा छुट्छ अनि आयोजकलाई सिधै फोन गरेर कार्यक्रम छ अरे, कस्तो कार्यक्रम हो ? हामी नभएपनि कार्यक्रम सफल हुन्छ भन्ने सोंच्नुभएको छ क्या ? हेरम्ला, ल कार्यक्रम गरेर देखाउनुस् । यति भएपछि अब कि कार्यक्रम नै बन्द गर्नुप¥यो कि त बोलाउनै पर्ने भयो यी आयोजक समस्यामा पर्छन् ।

आयोजक सल्लाह गर्छन् ठिकै छ नआई नछोड्ने भएपछि बोलाईदिम न त के भो र ? तर एउटा शर्तमा कार्यक्रम छोटो गरेर सक्न पर्छ कसैलाई नि बोल्न नदिम न त । आयोजककै अर्कोले भन्छ, हो यो आईडिया ठिक हो, मलाई राम्रो लाग्यो है । अनि राति फोन गरेर आयोजकले भन्छन्, ल भोलि कार्यक्रम गरिने भईयो हजुर अतिथिकोरुपमा आउनु है, यसैलाई आधिकारिक मान्नु है, चिठ्ठी काट्न आजको भोलि भो ।

बैकुण्ठजीले भित्रैबाट स्वीकार्न सक्नुहुन्न तर उहाँलाई बाध्यता छ भोलि फेरि यही पनि बोलाउनै छोड्छन् कि भन्ने, तर भन्न चाहीँ छोड्नु भएन यस्ता कार्यक्रम गर्दा समन्वय, सल्लाह, परामर्श चाहीँ लिनपर्छ ।
आयोजक आँफैले जानेर बोलाएपनि वा यस्तै यस्तै बाध्यतामा पारिएर भएपनि जे होस् बैकुण्ठजीलाई निम्ता धेरै ठाउँहरुमा हुने गर्छ । कार्यक्रमको समय तालिका जुध्छन् । तालिका मिलाउन सकस हुन्छ, हैरान हुन्छ । धेरै कार्यक्रमहरुमा पुग्नुपर्ने बाध्यता एकातिर छ, अर्कोतिर निर्धारित समयमा कार्यक्रम सुरु हुँदैनन् । फेरि अरु अतिथिहरुभन्दा पहिल्यै जान पनि पदीय मर्यादाले दिएन । कार्यक्रममा सहभागीहरु अल्ली धेरै भएपछि जाँदा अझ ओझिलो भईन्थ्यो कि, आयोजक अनि दर्शकलाई केही समय भएपनि कुराएर, पर्खाएर जाँदा ठीक हुन्थ्यो भन्ने लाग्छ । बैकुण्ठजी समयको तालमेल अनि आफ्नो पदीय मर्यादा मिलाउनकैलागि के गरौं कसो गरौं भनेर छटपटाउन थाल्नुहुन्छ । होईन धेरै ठाउँमा जानपर्छ भनेर बरु आयोजकलाई समयमै सुरु गर्न लगाउन सके आँफैलाई सजिलो हुने विचारसहित कार्यक्रम स्थल पुग्नुहुन्छ । कार्यक्रम स्थलमा पुग्दा आयोजकका ५÷७ जनामात्रै उपस्थित भएर कुर्सी मिलाउँदै थिए, व्यानर टाङ्ने काम गर्दै थिए । अब झन बैकुण्ठजीलाई अन्योल बढ्छ, यहीँ बसेर कुरौं कि अर्को ठाउँको कार्यक्रममा पुगौं । जे होस् आयोजकले यहाँ अतिथिज्यूहरु आईसक्नुभयो हजुरहरु जसरी नि छिटो आईदिनुप¥यो भनेर आयोजककै सदस्यहरुलाई तारन्तार फोन गर्छन् अनि जम्मा हुनेक्रम बढ्दै जान्छ ।

कार्यक्रम सुरु हुन्छ तर बैकुण्ठजीको आशनग्रहणको मर्यादाक्रम बिग्रन्छ । अनि उहाँ भन्न थाल्नुहुन्छ, “यस्तो पनि हुन्छ, यो कार्यक्रम चलाउने तरिका शैली के हो ? कस्को पदीय जिम्मेवारी के हो ? त्यति पनि हेक्का राख्न सकिंदैन भने यस्ता कार्यक्रममा किन आउनुप¥यो ?” आयोजकले गल्ति स्वीकार्छ र अबका दिनमा यसप्रकारका गल्तिहरु नदोहो¥याउने प्रतिवद्धता पनि जनाउँछ ।

बैकुण्ठजीले आँफू अर्को कार्यक्रममा पनि जानुपर्ने भएकाले मलाई बोल्न छिटो बोलाउनुप¥यो भनेर आयोजकलाई भन्नुहुन्छ । सोही अनुसार कार्यक्रम सञ्चालकले मञ्चमा बोलाउँछन् । जानुहुन्छ मञ्चमा उपस्थित भएभरका सबैको पद र नाम लिएर सम्वोधन सुरु गर्नुहुन्छ । यस्तो लाग्छ कि कार्यक्रममा पहिलो पटक गएको दर्शकले एउटै व्यक्तिको नाम, पदसहितको भाषणमा दिन बिताउँछ । बैकुण्ठजीले झण्डै ४७ मिनेट भाषण गरेरसकेपछि म अर्का २÷३ वटा कार्यक्रममा पनि पुग्नुछ त्यहाँ आयोजक साथीहरुले पर्खिरहनुभएको छ भनेर कार्यव्यस्तता देखाएर अर्काको भाषण ग्रहण नगरी आफ्नो ग्रहण गराएर बाहिरिनुहुन्छ ।

हतारिंदै हतारिंदै बैकुण्ठजी अर्को कार्यक्रममा जानुहुन्छ, त्यहाँ पुगेपछि आयोजकले आशन ग्रहण गराउँछन् । तर जति भन्नुपर्ने थियो फूलबुट्टा भरेर त्यो भर्न कार्यक्रम सञ्चालक सक्षम देखिन्नन् । सञ्चालकले पदीय मर्यादाक्रम मिलाउन जान्दैनन् र ज–जस्को नाम सम्झिन्छन् त्यही त्यही अतिथिहरुलाई बोल्नकालागि आमन्त्रण गर्छन् । आँफूभन्दा सानो पदीय मर्यादामा रहेका अतिथिभन्दा बैकुण्ठजीलाई पहिला बोल्न निम्त्याईन्छ । अनि भन्किनुहुन्छ, खोई पदीय मर्यादा ? पदीय मर्यादाको ख्यालै छैन, यस्तो पनि हुन्छ ?
त्यहाँ पनि बैकुण्ठजीले आयोजक तथा विपक्षीलाई घोंचपेचजडित भाषण ग्रहण गराएर अर्का २ वटा कार्यक्रममा जसरी नि पुग्नुछ भनेर पहिल्यै निस्कनुहुन्छ ।

बैकुण्ठजी एउटा यस्तो कार्यक्रममा पुग्नुहुन्छ, आँफूले महत्व दिएर जानुभयो तर उहाँलाई आशन ग्रहण नै भएन । कार्यक्रममा पुगिहाल्नुभयो तर आशन ग्रहण नभएपछि त्यहाँ बसम कि जाम ? बसम कि जाम ? उहाँको अन्र्तमनभित्र जाम कि बसम ? जाम कि बसम ? भन्ने बीच अन्र्तद्वन्द्व सिर्जना भयो । होईन आईसकियो अब यहाँ पनि मेसो मिलाएर आशन ग्रहण गर्ने र भाषण ग्रहण गराएर जानुपर्छ भन्ने लाग्यो । अनि आशन ग्रहणकालागि जुक्ति निकाल्न लाग्नुभयो । जसलाई पायो उसैलाई आशन ग्रहण भएन म निस्के भन्न नि भएन, मपाईत्व हुन्छ कि ? सम्मान मागेर लिने चिज होईन भन्ने पनि छ अनि सम्मान नलिई पनि भएको छैन । यही बीच एउटा उपाय निस्क्यो मञ्चमा बसेको एकजना उहाँको मन मिल्ने मान्छे अतिथिकोरुपमा हुनुहुन्थ्यो । उहाँलाई म्यासेज गर्नुभयो, “मेरो त आशन ग्रहण नै भएन म अब निस्कने त होलानि ? यस्सो आयोजकसित बुझ्नु त ।” म्यासेज हेर्नेले त्यसको आशय बुझिहाले र आडैमा रहेका आयोजकलाई यस्सो कोट्याएर कानमा सुटुक्क भनिपनि हाले “फलानो आएर उ उहाँ पछाडि बस्नुभएको छ मञ्चमा बोलाएर आशन ग्रहण गराउनुप¥यो ।”

आयोजकले मञ्चमा बोलाएर आशन ग्रहण गराए । अघिसम्म झरि पर्नुअघिको कालो आकाशजस्तो भएको मुहार एकाएक झरिपछिको आकाशजस्तो बन्न थाल्यो, ख्याल गर्नेले सजिलै मुहार पढ्न सक्थ्यो ।

एकदिन फूलकुमारी मान्छे बितेपछि नदी किनारमा हुने अन्त्येष्टिमा सहभागी हुनुभयो । त्यहाँ श्रद्धाञ्जलि सभा, शोकसभा यस्तै यस्तै भन्दै एकजनाले बोलिरहेका थिए । फलानो फलानो मानिसहरु यस ठाउँमा मृतकप्रति श्रद्धाञ्जलि र शोकाकुल परिवारप्रति समवेदना दिन आउनुभएको छ भनेर भन्दै थिए । त्यहाँ फूलकुमारीको पनि नाम अनि पद तल परेछ । अनि आडैमा उभ्भिएको अर्कोलाई भन्दै हुनुहुन्थ्यो, “मर्यादाक्रम के हो ? कसो हो ? केही नि जान्दैन, अनि उसैलाई खुब जान्नी बन्न पर्छ ? आँफूले सबैका पद र मर्यादाक्रम नजान्नी भएपछि अर्को जान्नीले कार्यक्रम चलाउथ्यो त, किन उछुर–उछुर हुन परेको होला ?”

मान्छे बाँचेका ठाउँमा त आशन र भाषण ग्रहणमा रमाउने हामीहरु मान्छे मरेका ठाउँमा पनि पदीय मर्यादाकै खोजीमा छांै । मान्छे जन्मेदेखि मर्दासम्मका विभिन्न चरणहरुमा आशन र भाषण ग्रहण गर्ने गराउने क्रममा छौं । थाकेका छैनौं, थाक्दैनौं पनि । जस्तोसुकै प्रकृतिको कार्यक्रम भएपनि हामीले गर्ने भाषण एउटै खालको हुन्छ । कार्यक्रमको प्रकृति अनुसार हामीले हाम्रा भाषणलाई किन परिवर्तन गर्न सक्दैनौं ? सधैं मञ्चमा होईन कहिले काँही नागरिक दर्शकसित पछाडि पनि आएर बस्नुस्, अनि बुझ्नुहुन्छ भाषणप्रति दर्शकको आकर्षण कस्तो छ ? मन कामले जितिन्छ होला भाषणले होईन । तपाईले गरेको काम यस्तो होस् कि भाषण नै त्यहि बनोस् । कामले भाषण बोलोस् । अर्को कुरा काम भयो भने भाषण गरिरहनुपर्ला जस्तो लाग्दैन ।

बोल्दा, बोल्दा, बोल्दा दर्शक दिक्क भएर निस्किन्छन्, कुर्सीमात्रै खाली हुन्छन् तर पनि भाषण नछोट्याउने कारणले गर्दा पनि यस्ता औपचारिक भाषण र आशन ग्रहण कार्यक्रममा उपस्थिति कम हुँदै गएको हो कि ? भाषण गर्ने कला सिक्नुस् । दर्शकले कस्तो खालको भाषण खोजेका छन् ? हामी कस्तो कार्यक्रममा भाषण गर्न जाँदैछौं त्यो विषयवस्तुकाबारेमा पूर्व जानकारी लिएर अध्ययन गरेर मात्रै जाऔं । लामो आशन ग्रहण फेरि वक्ताले नगरौं समयलाई महत्व दिएर सकिन्छ, बूँदागतरुपमा आफ्ना विचारहरु राखेर छोडिदिऔं ।
अनि दर्शकले भनिहाल्छ नि कस्तो यथार्थ, विषयवस्तुमा केन्द्रीत, कति अध्ययनशील रहेछ भाषण सुन्नु त फलानाको जस्तो । उही पुरानै तरिकाका भाषण र आशन ग्रहण हो भने बाध्यताले आएका दर्शकहरु पनि अब आउने छैनन् । हाम्रा आशन र भाषण गर्ने कार्यक्रमहरु पनि संग्रहालयमा लगेर सुरक्षित राख्नुपर्ने हुनसक्छ । भोलिका पुस्तालाई ईतिहास बन्न सक्छ ।

(नोट ः यहाँ प्रस्तुत गरिएको बैकुण्ठ र फूलकुमारी नामक पात्र हाम्रै समाजमा देखिएका आशन ग्रहण र भाषण ग्रहणमा रमाउने प्रतिनिधि पात्रकोरुपमा अगाडि सारिएको हो । कसैसँग मेल खाएमा यो संयोगकोरुपमा लिईदिनुहुन अनुरोध छ ।)

Google search engine