वालिङ, २८ असोज ।
स्याङ्जाको वालिङमा आउँदै गरेको २०८३ सालको विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा सरसफाइ गरिएको छ । सुरक्षा निकाय, स्थानीय संघसंस्था र सर्वसाधारणको संयुक्त सहभागितामा वालिङ १० भकुण्डेस्थित नवजागरण पार्क तथा Pink City Holy Park क्षेत्रमा सरसफाइ गरिएको हो । कार्यक्रममा सशस्त्र प्रहरी बल ३० नं गुल्म वालिङ, वडा प्रहरी कार्यालय वालिङ, शिव पार्वती आमा समूह, मन्दिर परिवार तथा स्थानीयवासीहरूको सक्रिय सहभागितामा सरसफाई गरिएको हो ।

नवजागरण पार्कका अध्यक्ष अर्जुनप्रसाद खनालका अनुसार नेपालीहरुको महान पर्व दशैं र तिहारमा मन्दिर तथा धार्मिक पर्यटकीय स्थलहरूलाई स्वच्छ र पवित्र राख्न यो अभियान सञ्चालन गरिएको हो ।

दशैं भन्नेबित्तिकै वर्षमा एकपटक भएपनि धर्ती छाड्नुपर्छ भन्ने धार्मिक तथा सांस्कृतिक मान्यता छ । तर पछिल्लो समय प्रविधिको विकाससँगै हाम्रा मौलिक लिङ्गे पिङहरू लोप हुँदै गएका छन् । सांस्कृतिक परम्पराको संरक्षण गर्न र युवा पुस्तालाई आफ्नो मौलिकतासँग जोड्न लिङ्गे पिङ निर्माण गरिने उहाँले बताउनुभयो ।






