वालिङ, १० कार्तिक ।
नेपाली काँग्रेसका केन्द्रीय सभापति गगनकुमार थापाले काँग्रेसले गुमाएको मत नभई विश्वास भएकाले त्यसलाई पुनस्थापित गर्न सबै तहका नेता तथा कार्यकर्ताहरू एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ । पार्टीको १५ औँ महाधिवेशनपछि सभापतिको जिम्मेवारी सम्हालेलगत्तै पहिलो औपचारिक कार्यक्रमका रूपमा स्याङ्जा सदरमुकाम पुतलीबजारमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
काँग्रेसले विश्वास गुमाउँदा मत पनि गुमेको उल्लेख गर्दै सभापति थापाले अब मतदाताको घर–घरमा पुगेर विश्वास दिलाउनुपर्नेमा जोड दिनुभयो । काँग्रेसले गुमाएको मत होइन विश्वास हो, उहाँले भन्नुभयो, विश्वास पुनस्थापित गर्दा मत विश्वासलाई पछ्याउँदै आफैँ आउँछ । वडादेखि केन्द्रसम्मका जिम्मेवारीमा रहेका वा नरहेका सबैले एकपटक बदलिएको काँग्रेसबारे जनतालाई बुझाउन सकेमात्र गुमेको विश्वास फर्काउन सकिने उहाँको भनाइ छ । हिजो पार्टीप्रति चित्त दुखेका कुराहरू १५ औँ महाधिवेशनपछि बदलिएको र काँग्रेस नयाँ ढङ्गले अगाडि बढेको कुरा घरघरमा पु¥याउनुपर्ने उहाँले बताउनुभयो ।
विगतका कुरा स्मरण गर्दै उहाँले भन्नुभयो, हिजो जो मानिसहरू हाम्रा थिए, आज हाम्रा छैनन्। अब ती मानिसहरूलाई भेट्नुपर्नेछ, चित्त दुखेका कुराहरू सुन्नुपर्नेछ र आज बदलिएको काँग्रेसबारे बुझाउनुपर्नेछ । आगामी मङ्सिर महिनामा पार्टीका बारेमा तल्लो तहसम्म नै जानकारी दिने उद्देश्यले विशेष जागरण अभियान सञ्चालन गर्ने तयारी भइरहेको समेत उहाँले जानकारी दिनुभयो । १५ औँ महाधिवेशनलाई पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाका रूपमा लिँदै जिम्मेवारी प्राप्त गर्ने वा नगर्ने कुरालाई हारजितको रूपमा नबुझ्न उहाँले आग्रह गर्नुभयो । महाधिवेशनपछि पार्टीमा सबैको समान हैसियत रहेको उहाँको भनाइ थियो ।
पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेपछि सभापति थापाले दिउँसो स्याङ्जाको बिरुवा गाउँपालिका–७ मा अवस्थित मनकामना मन्दिरको उद्घाटन गर्नुभएको छ । मन्दिर उद्घाटनको कार्यक्रम सकिएपछि उहाँ हिजो साँझ वालिङमा आयोजित अन्तरक्रिया कार्यक्रममा समेत सहभागी भएका थिए ।







