प्राकृतिक विपत्ति पूर्वसूचना दिएर आउँदैन। यसले ल्याउने बाढी र पहिरोले आँखैअगाडि कसैको बस्ती उजाडिदिन्छ, कसैको गाँस र बास खोसिदिन्छ त कसैको जीवनका सारा सपनाहरू बगाइदिन्छ। यतिबेला नेपाल फेरि एकपटक बाढी-पहिरोको उस्तै भयावह पीडासँग जुधिरहेको छ। चारैतिर उजाडिएका घरहरू, शोकाकुल आँखाहरू र भोकसँग संघर्ष गरिरहेका अनुहारहरू देखिन्छन्। तर, इतिहास साक्षी छ— जब जब प्रकृतिले नेपाल र नेपालीमाथि कठोर प्रहार गर्छ, तब तब मानवीय संवेदना, करुणा र एकताको शक्ति अझ बढी प्रखर भएर निस्कन्छ। यस्तै संकटको घडीमा दुःखमा परेका नागरिकको आँसु पुछ्न र आशाको दीप बाल्न अग्रसर बनेको छ— पतञ्जलि नेपाल।
‘योग, आयुर्वेद र सेवा’ लाई आफ्नो मूल दर्शन मान्दै आएको पतञ्जलि नेपालले स्वामी रामदेवजी महाराज र आचार्य श्री बालकृष्णजी महाराजको प्रेरणामा बाढी-पहिरो प्रभावित नागरिकको पीडामा मलम लगाउन विशाल मानवीय अभियान अघि बढाएको छ। यो केवल कागजी प्रतिबद्धतामा सीमित छैन, संकटग्रस्त बस्तीहरूमा प्रत्यक्ष पुगेर सेवाको हात फैलाउने काम भइरहेको छ।
भोक मेटाउने केवल भोजन होइन, आशा हो
विपत्तिको बेला राहत सामग्रीको घोषणा हुनु र त्यो संकटग्रस्त क्षेत्रसम्म पुग्नुमा धेरै फरक हुन्छ। पतञ्जलि नेपालले प्रभावित क्षेत्रमा रू २ करोड ११ लाख बराबरको सहयोग उपलब्ध गराउँदै राहत र खानपानको व्यवस्था मिलाएको छ। अझ सराहनीय कुरा त के छ भने, प्रभावित क्षेत्रका एक दर्जनभन्दा बढी स्थानमा निःशुल्क भण्डारा सञ्चालन गरी भोकै रहेका नागरिकहरूलाई दैनिक भोजन गराउने कार्य निरन्तर भइरहेको छ। संकटको बेला संकटग्रस्त मानिसका लागि एक छाक तातो भोजन केवल खाना मात्र हुँदैन—त्यो त जीवन जिउने आशा हो, आत्मीयता हो र ‘म संकटमा एक्लो छैन, मेरो साथमा अरू पनि छन्’ भन्ने भरोसा हो। पतञ्जलिले यही भरोसा दिलाउने काम गरेको छ।
व्यावसायिक पहिचानभन्दा माथि सेवाको धर्म
धेरैका लागि पतञ्जलि केवल योग सिकाउने वा आयुर्वेदिक औषधि उत्पादन गर्ने संस्था मात्र हुन सक्छ। तर, नेपालका राष्ट्रिय विपत्तिहरूमा यसले खेलेको भूमिका हेर्ने हो भने यो संस्था राष्ट्र र जनताको सुख दुःखको सच्चा सहयात्री बनेर उभिएको देखिन्छ। हाम्रो पूर्वीय दर्शनले भन्छ— ‘नर सेवा नै नारायण सेवा हो’। अर्थात्, दुःखमा परेका मानिसको सेवा गर्नु नै ईश्वरको सच्चा पूजा हो। जब मानिसले संकटमा परेको अर्को मानिसभित्र आफ्नै प्रतिविम्ब देख्न थाल्छ, तब मात्र वास्तविक करुणा जन्मिन्छ। पतञ्जलि नेपालले यही निष्काम सेवाको दर्शनलाई सिद्धान्तबाट उठाएर मैदानमा प्रमाणित गरिदिएको छ।
सामूहिक प्रयासबाटै उठ्नेछ नेपाल
विपत्तिले बाटो छेक्न सक्छ, घर ढाल्न सक्छ र जीवनमा असीम पीडा थप्न सक्छ तर यसले नेपालीको अदम्य साहस र मानवीय भावनालाई कहिल्यै रोक्न सक्दैन। आज देश अप्ठ्यारोमा परेको बेला सरकारको मुख मात्र ताकेर बस्ने छुट कसैलाई छैन। राज्यको प्रयासमा निजी क्षेत्र, सामाजिक संस्थाहरू र प्रत्येक नागरिकले आफ्नो सामर्थ्यअनुसार हातेमालो गर्नु अनिवार्य छ। पतञ्जलि नेपालले सुरु गरेको यो राहत तथा भोजन अभियान केवल एउटा संस्थाको कार्यक्रम मात्र होइन, यो समग्र समाजका लागि एउटा प्रेरणादायी सन्देश हो। संकटका काला बादलहरू अवश्य हट्नेछन्, तर यो कठिन समयमा कसले कसको आँसु पुछ्यो र कसले मानवताको धर्म निभायो भन्ने कुरा इतिहासले सधैँ सम्झिरहनेछ। विपत्तिमा परेका दाजुभाइ दिदीबहिनीको साथमा दरिलो खम्बा बनेर उभिएको पतञ्जलि नेपालको यो अभियानप्रति हार्दिक नमन! मानवताको यो यात्रा निरन्तर अघि बढिरहोस।





