आरती कुँवर
वालिङ, २६ असोज ।
स्याङ्जाको वालिङ, ५ थानचौरमा रहेको महेन्द्र माध्यमिक विद्यालयलाई आवासीय विद्यालयका रुपमा विकास गर्न आर्थिक सहयोग संकलन थालिएको छ । वि.सं. २०१७ सालमा स्थापना भएको यस विद्यालयलाई प्रविधिमैत्री, सीपमुलक एवम् जीवनोपयोगी शिक्षा प्रदान गर्न नमुना आवसीय विद्यालयका रुपमा विकास गर्न आर्थिक संकलन अभियान थालनी गरिएको हो ।
बढ्दो सहरिकरण, यातयात पहुँच विस्तार, भौगोलिक कठिनाई, संस्थागत विद्यालयमा अभिभावकको रुचि बढ्नु लगायतका कारण सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घटिरहेको अवस्थालाई मध्यनजर गर्दै आवसीय सुविधा सहितको प्रविधिमैत्री शिक्षण गराउन आर्थिक संकलन कार्य शुरु गरिएको विद्यालयमा प्रध्यानाध्यापक कमलराज लम्सालले बताउनुभयो । विद्यालयले अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोग संकलन समिति नै बनाएर अभियानको थालनी गरेको प्रअ लम्सालले जानकारी दिनुभयो ।
यस अभियान अन्तर्गत सुवेदार मेजर अफिसर क्याप्टेन डोल बहादुर थापाको संयोजकत्वमा रहेको महेन्द्र मावि भूतपूर्व तथा सेवारत सैनिक अक्षयकोष समिति मार्फत हालसम्म करिब १६ लाख रुपैयाँ संकलन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल आलेले जानकारी दिनुभयो । साथै यस अभियानलाई थप विस्तार गर्न गैरसैनिकहरुको सहभागिताको लागि नारायण प्रसाद रेग्मीको संयोजकत्वमा महेन्द्र मावि अर्थ तथा सुझाव संकलन समिति गठन गरि अभियान प्रारम्भ गरिएको अध्यक्ष आलेले बताउनुभयो ।
रेग्मी संयोजक रहेको समितिमा डोलजंग गुरुङ सचिव र फगिन्द्र थापा कोषाध्यक्ष रहनुभएको छ । अक्षयकोष स्थापनाका लागि सहयोग गर्ने अक्षयकोषदाताहरुलाई रकम अनुसार सम्मान समेत गरिने विद्यालयले जनाएको छ । रु पाँच हजार देखि नौ हजार नौ सय १९ रुपैयाँ सम्मको अक्षयकोष स्थापना गर्ने दातालाई सम्मान पत्र, साधारण सदस्ष्ता र स्मारिकामा नाम लेखिने छ । यस्तै दश हजार देखि १९ हजार नौ सय ९९ रुपैयाँ सहयोग गर्ने दातालाई सम्मान पत्र साधरण सदस्यता र नाम लेखिने प्रअ लम्सालले जानकारी दिनुभयो ।
त्यस्तै २० हजार देखि माथि सहयोग गर्ने दातालाई सम्मान पत्र आजीवन सदस्यता स्मारिका एवम् शिलालेखमा नाम लेखिने, २ लाख भन्दा माथि सहयोग गर्ने दातालाई सम्मान पत्र, परिवारको एक सदस्यलाई विशिष्ट आजीवन सदस्यता प्रदान गरिनेछ भने आफ्नो एकल परिवारको बढीमा १० सदस्यहरुको नाम स्मारिका र शिलालेखमा समावेश गरिने विद्यालयका प्रअ लम्सालले बताउनुभयो । यसरी संकलन गरिएको रकम बैंकमा जम्म गरिने र उक्त रकमको प्राप्त ब्याज रकमबाट प्राथमिकताका आधारमा आवसीय सुविधा व्यवस्थापनमा खर्च गरिनेछ ।
विद्यालय आवसीय रुपमा विकासपछि टाढाबाट आउने विद्यार्थी, वैदेशिक रोजगारीमा रहेका अभिभावकका सन्तानले समेत विद्यालयमै आवसीय सुविद्यासहित शिक्ष आर्जन गर्न सक्नेछन् । साथै विद्यार्थीको नियमित अध्ययन गर्ने बानिको विकास हुने, विद्यालय छोड्ने दर घट्ने, सिकाइ उपलब्धि र शैक्षिक गुणस्तरमा सुधार आउने विद्यालयको विश्वास रहेको छ ।





