बबिन पाठक
वालिङ, २ साउन ।
वालिङ बहुमुखी क्याम्पसको BICTE Club द्वारा आयोजित दुई दिने ‘आइटी बूटक्याम्प’ (Boot Camp) कार्यक्रम शनिबार क्याम्पसमा सुरु भएको छ। क्याम्पसमा सूचना प्रविधि विषय (BICTE) अध्ययनरत विद्यार्थीहरूको प्राविधिक क्षमता अभिवृद्धिका लागि यो कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमबारे जानकारी दिँदै क्लबका अध्यक्ष आशिष मिजारले BICTE का सम्पूर्ण सेमेस्टरका विद्यार्थीहरूलाई लक्षित गरी यो बूटक्याम्प आयोजना गरिएको बताउनुभयो। यस कार्यक्रमले IT पढ्ने विद्यार्थीहरूको सीप विकास (Skill Development), आपसी सहकार्य (Collaboration) र रचनात्मक संलग्नता (Students Engagement) लाई बढावा दिँदै उनीहरूको शैक्षिक हितमा मद्दत पुर्याउने विश्वास अध्यक्ष मिजारले व्यक्त गर्नुभयो।
बूटक्याम्पको पहिलो दिन BICTE सातौँ सेमेस्टरका विद्यार्थीहरू आशिष मिजार र संयोग पङ्गेनीले प्रशिक्षकको भूमिका निभाउनुभएको थियो। उद्घाटनकै दिन विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको र कार्यक्रम निकै प्रभावकारी ढंगले अगाडि बढेको क्लबका सल्लाहकार संयोग पङ्गेनीले जानकारी दिनुभयो।
कार्यक्रममा बोल्दै BICTE का प्राध्यापक अमृत पराजुलीले क्लबको यस कार्यको प्रशंसा गर्दै खुसी व्यक्त गर्नुभयो। उहाँले विद्यार्थीहरूको व्यावहारिक ज्ञानका लागि आगामी दिनमा पनि यस्ता थप रचनात्मक कार्यक्रमहरू आयोजना गरिनुपर्नेमा जोड दिनुभयो।
त्यस्तै, क्लबका निवर्तमान अध्यक्ष वसन्त भुषालले कार्यक्रम सफलतापूर्वक सञ्चालन भएकोमा खुसी व्यक्त गर्दै यस्ता प्राविधिक गतिविधिहरूलाई निरन्तरता दिन आफ्नो तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।
क्याम्पस स्ववियुका सह-सचिव बबिन पाठकले क्लबको यो प्रयास निकै प्रभावकारी र समयसान्दर्भिक भएको उल्लेख गर्नुभयो। उहाँले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदैव विद्यार्थीको हक-हित र क्षमता विकासका लागि सँगै रहने भन्दै क्लबलाई आइपर्ने हरेक सहयोग गर्न स्ववियु तयार रहेको बताउनुभयो।
कुल ३३ जना विद्यार्थीहरूको सहभागिता रहेको उक्त उद्घाटन कार्यक्रमको सञ्चालन क्लबका सचिव आशिष कुँवरले गर्नुभएको थियो। दुई दिनसम्म चल्ने यस बूटक्याम्पले विद्यार्थीहरूलाई व्यावहारिक प्राविधिक ज्ञान सिकाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। क्याम्प भोलि सकिनेछ ।





