आरती कुँवर
वालिङ, ५ चैत ।
स्याङ्जाको वालिङमा युवाहरुको अगुवाईमा रामनवमी विशेष मेला हुने भएको छ । वालिङका युवाहरुले मौलिक संस्कृति तथा हाम्रा परम्पराको संरक्षण गर्ने लक्ष्यसहित ऐतिहासिक बाह्रबिसे बजार सञ्चालन गर्न लागेका हुन् । बाह्रबिसे संस्कृति संरक्षण समितिमा आवद्ध रहेका युवाहरुले अघिल्लो वर्षदेखी शुरु गरेको बजारलाई निरन्तरता दिने भन्दै रामनवमीको अवसरमा चैत्र १३ गते उक्त बजार आयोजना गरिएको छ । उक्त मेला वालिङ ९ र १३ को संगम स्थल आँधीखोलाको किनार भट्टेचौरमा सञ्चालन हुने बाह्रबिसे संस्कृति संरक्षण समितिका अध्यक्ष अर्जुन गौतमले बताउनुभयो ।

ऐतिहासिक तथा सांस्कृतिक महत्व रहेको यस मेलालाई मौलिकता संगै आधुनिकताको संगम समेत बनाउन खोजिएको अध्यक्ष गौतमको भनाई छ । पहिलाको समयमा यहाँ पाइने सम्भावित सामग्रीहरु संगै रामनवमि विशेष सांगीतिक कार्यक्रम समेत हुने उहाँले जानकारी दिनुभयो ।
“धेरै पहिलेदेखि भट्टेचौरमा चल्दै आएको बाह्रबिसे बजारलाई निरन्तरता दिन गतवर्षदेखि मेला आयोजना गरेका छौ, यो वर्ष पनि रामनवमीको अवसर पारेर १ दिनको मेला आयोजना गर्न लागेका हौ” अध्यक्ष गौतमले भन्नुभयो । त्यो बेलामा माटोबाट निर्माण गरिएका सामग्रीहरु खरिद गर्नको लागी बसेको बजार भएकाले त्यही मौलिकता झल्काउनको लागि निरन्तरता दिने प्रयास गरेको उहाँले बताउनुभयो ।

विशेषगरी माटोद्वारा निर्मित भाँडाकुँडा, परम्परागत हस्तकलाका सामग्री, उखु र गुड जस्ता स्थानीय उत्पादनहरू बिक्री, वितरण र प्रदर्शन यस मेलाको मौलिकता हो । झण्डै डेढ सय बर्ष अगाडि देखि चल्दै आएको मेला कोरोनाकालमा भने सञ्चालन हुन सकेको थिएन् ।





