आरती कुँवर
वालिङ, ७ चैत । स्याङ्जाको वालिङमा लायन्स र लियो क्लबहरूको संयुक्त आयोजनामा शनिबार एक बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। “सेवा नै धर्म हो” र “खुसीका लागि सेवा” भन्ने मूल नाराका साथ लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम नेपाल, जोन ५ अन्तर्गतका विभिन्न क्लबहरूले कार्यक्रमको आयोजना गरेका हुन्।
वालिङ-८ स्थित जैसिपँधेरामा आयोजित उक्त कार्यक्रममा लायन्स क्लब अफ वालिङ सिटी, लायन्स क्लब अफ वालिङ ग्रिन होम, लायन्स क्लब अफ भीरकोट र लियो क्लब अफ वालिङ सिटीको संयुक्त सहभागिता रहेको थियो। नेपाल रेडक्रस सोसाइटी र रक्त सञ्चार केन्द्र स्याङ्जाको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा ३५ पिन्ट रगत संकलन गरिएको आयोजकले जनाएको छ।
जिल्लामा हुन सक्ने सम्भावित रगतको अभावलाई कम गर्न र बिरामीको ज्यान जोगाउने पवित्र उद्देश्यका साथ यो अभियान सञ्चालन गरिएको हो।

कार्यक्रमका अवसरमा बोल्दै लायन्स क्लब अफ ईन्टरनेशनल डिष्ट्रिक ३२५ एम नेपालका अध्यक्ष धनीराम बरालले रक्तदान जीवनदान भएको बताउँदै लायन्स क्लबले बेला बेलामा यस खालका मानवीय कार्यमा जुट्दै आएको बताउनुभयो ।
लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम नेपाल, जोन ५ का चेयरपर्सन लायन माधव कँडेलले मानवीय सेवा नै लायन्सको मुख्य मार्ग रहेको बताउनुभयो। उहाँले रगतको अभावमा कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने हाम्रो मुख्य हेतु रहेको भन्दै यस्ता सामाजिक कार्यले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको बताउनुभयो ।

कार्यक्रम जोन चेयरपर्सन कँडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन लियो जिल्ला परिषद डिस्ट्रिक्ट ३२५ एम नेपालका प्रथम उपाध्यक्ष लियो दिक्षान्तप्रताप खाँणले गर्नुभएको थियो भने लायन्स क्लब अफ वालिङ सिटीका अध्यक्ष पार्वती पंगेनीले स्वागत र धन्यवाद लायन्स क्लब अफ भीरकोटका अध्यक्ष चिन्तामणि खनालले गर्नुभएको थियो ।





