स्याङ्जामा निर्वाचन लक्षित सुरक्षा अप्रेसनः ४ नाल भरुवा बन्दुकसहित तीन जना पक्राउ

0
105
Google search engine

वालिङ, ६ माघ ।
आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ लाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारेको स्याङ्जा प्रहरीले हिजो ठूलो परिमाणमा अवैध हतियार र गोलीगठ्ठा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जा र प्रहरी चौकी विरूवाअर्चलेबाट खटिएको ’विशेष सर्च अप्रेसन’ टोलीले विरूवा गाउँपालिका वडा नं. ३, सिउँडीबाट ४ नाल भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको हो ।
निर्वाचन सुरक्षा रणनीति अन्तर्गत सञ्चालित खानतलासी अभियानका क्रममा सिउँडी निवासी ७७ वर्षीय तिल बहादुर पुलामीको घरबाट दुई नाल भरुवा बन्दुक, २२३ ग्राम बारुद, ३१ थान छर्रा, छर्रा बनाउन प्रयोग हुने सिसा र फलामको घोडा बरामद गरिएको छ।
त्यसैगरी, सोही स्थानका ६५ वर्षीय मिन बहादुर पुलामीको साथबाट एक नाल भरुवा बन्दुक, १७ थान छर्रा, ५० ग्राम बारुद र दुई थान केप फेला परेको छ भने अर्का ६५ वर्षीय रण बहादुर थापाको घरबाट एक नाल भरुवा बन्दुक, २३ थान छर्रा, ३७० ग्राम बारुद र ५ थान केप बरामद गरिएको प्रहरीले जनाएको छ।
आफ्नो घरमा लुकाई–छिपाई राखेको अवस्थामा हतियार फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको छ। पक्राउ परेका तीनै जनामाथि प्रचलित कानुन बमोजिम कानुनी कारबाही प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। निर्वाचनको समयमा हुन सक्ने अपराधिक गतिविधि र सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै प्रहरीले जिल्लाभर सक्रियता बढाएको छ ।

Google search engine
Google search engine