आरती कुँवर
वालिङ, ६ माघ ।
वालिङ उद्योग वाणिज्य संघको आयोजनामा आगामी माघ १४ गतेदेखि २५ गतेसम्म वालिङ, ८ को खेलमैदानमा सञ्चालन हुन लागेको नवौँ वालिङ महोत्सवको तयारी तिब्र पारिएको छ। महोत्सव सुरु हुन अब एक हप्ता मात्र बाँकी रहँदा प्रचारप्रसार, स्टल निर्माण, र जग्गा व्यवस्थापनका कामहरू तीव्र गतिमा अगाडि बढिरहेका छन्। प्रचारप्रसार उपसमितिले विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत प्रचार गरिरहेको छ भने सांस्कृतिक उपसमितिले स्याङ्जा डान्स आइडल सिजन ४ का लागि जिल्लाका विभिन्न ठाउँमा अडिसनहरू सञ्चालन गरिरहेको छ।
यस पटकको महोत्सवमा करिब ३ लाख दर्शकले अवलोकन गर्ने र १० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ। महोत्सवमा कृषि, हस्तकला, र व्यापारिक प्रयोजनका ३५० वटा स्टलहरू रहनेछन्। विशेष गरी स्थानीय सुन्तला, कफी, अदुवा, र जडिबुटीको प्रदर्शनीका साथै डान्स आइडल, मम्मी डान्स, टिकटक प्रतियोगिता, र राष्ट्रिय कलाकारहरूको साङ्गीतिक प्रस्तुति महोत्सवका मुख्य आकर्षण हुन्। आगन्तुकहरूको सुविधाका लागि निस्शुल्क वाइफाइको व्यवस्था समेत गरिएको छ।
टिकटको हकमा सर्वसाधारणलाई १०० रुपैयाँ र विद्यार्थीलाई ७० रुपैयाँ शुल्क तोकिएको छ भने साँझको कन्सर्टका लागि २५० रुपैयाँ लाग्नेछ। वालिङ उद्योग वाणिज्य संघका नवीकरण भएका सदस्यहरूलाई भने प्रवेश निस्शुल्क गराइएको छ। यस महोत्सवलाई वालिङ नगरपालिका, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार र अन्य विभिन्न निकायहरूले आर्थिक तथा प्राविधिक सहयोग गरिरहेका छन्।





