वालिङ, २४ पौष ।
लागुपदार्थ सेवन गरी सवारी साधनहरु नचलाउन जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अनुरोध गरेको छ । लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने कार्यलाई निरुत्साहित गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लापसे सेवन गरी सवारीसाधन नचलाउन सवारी चालकहरुलाई अनुरोध गरेको हो । सडक दुर्घटना न्यूनीकरण गर्दै यात्रालाई अझ सुरक्षित, मर्यादित एवम् भरपर्दो बनाउनका लागि प्रहरीले स्याङ्जाका विभिन्न स्थानहरूमा विभिन्न Test Kit प्रयोग गरी नियमित रूपमा लागू पदार्थ सेवन चेकिङ कार्य सञ्चालन हुँदै आएको भन्दै प्रहरीले लागू पदार्थ सेवन गरी जथाभावी रुपमा सवारी नचलाउन भनेको हो ।
यसै अभियान अन्तर्गत स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित बसपार्क क्षेत्रको सिद्धार्थ राजमार्गमा (चारपाङ्ग्रे, दुईपाङ्ग्रे) सवारी साधन चेकजाँच गर्दा जम्मा १४ जना सवारी चालकहरू मध्ये ९ जनाले लागू पदार्थ सेवन गरी सवारी साधन चलाइरहेको पाइएको थियो । नियन्त्रणमा लिईएका उनीहरूलाई आवश्यक अनुसन्धान गरी अदालतले १४÷१४ दिन कैद र जरिवाना तोकेको छ ।
यस प्रकारको चेकिङ अभियान आगामी दिनहरूमा पनि स्याङ्जा जिल्ला अन्तर्गत पर्ने सिद्धार्थ राजमार्गका विभिन्न स्थानहरू तथा सहायक भित्री सडक मार्गहरूमा समेत निरन्तर रूपमा सञ्चालन गर्ने प्रहरीले जनाएको छ । सवारी चालकहरूलाई आफ्नो तथा अरूको ज्यानको सुरक्षालाई मध्यनजर गर्दै लागू पदार्थ सेवन गरी सवारी साधन नचलाउन, ट्राफिक नियमको पूर्ण पालना गर्न तथा सधैँ सजग र जिम्मेवार भई सवारी सञ्चालन गर्न जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले अनुरोध गरेको छ ।





