पुष १७, इस्वी संवतको नयाँ वर्ष सन् २०२६ शुरू भएको छ । येशु ख्रिस्टको जन्म वर्षलाई आधार मानेर विकसित गरिएको ग्रेगोरियन पात्रोअनुसार नयाँ वर्ष मनाउने चलन विश्वव्यापी रूपमा फैलिँदै गएको छ । विश्वका विभिन्न देश र शहरहरूमा हर्षोल्लासका साथ नयाँ वर्षको स्वागत गरिएको छ । नयाँ वर्षको अवसरमा युरोप, अमेरिका, एशिया, अफ्रिका र अस्ट्रेलियाका प्रमुख शहरहरूमा विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएका छन् । अमेरिकाको न्युयोर्कमा रहेको टाइम्स स्क्वायरमा बल ड्रप समारोहमा लाखौँ मानिस सहभागी भएका छन् ।
बेलायतको लन्डनमा थेम्स नदी किनारमा आतिशबाजी प्रदर्शन गरियो भने स्कटल्यान्डमा परम्परागत हगमानय पर्व उल्लासपूर्वक मनाइयो । अस्ट्रेलियाको सिड्नीमा सिड्नी हार्बर ब्रिज र ओपेरा हाउस वरिपरि विश्वप्रसिद्ध आतिशबाजी प्रदर्शन गरिएको छ । ब्राजिलको कोपाकाबाना समुद्रतटमा झन्डै २० लाख मानिसको सहभागितामा नयाँ वर्षको स्वागत गरिएको छ ।
जापान, दक्षिण कोरिया, चीन र दक्षिणपूर्व एशियाका शहरहरूमा परम्परा र आधुनिक उत्सवको संयोजनसहित नयाँ वर्ष मनाइएको छ । हङकङमा हालैको आगलागी दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्मानमा मुख्य आतिशबाजी कार्यक्रम रद्द गरिएको छ ।
नेपालमा पनि पछिल्ला वर्षहरूमा अङ्ग्रेजी नयाँ वर्ष मनाउने चलन बढ्दो छ । काठमाण्डौको ठमेल, बौद्ध, ललितपुर तथा पोखरा, सौराहा जस्ता पर्यटकीय क्षेत्रमा सांगीतिक कार्यक्रम, सांस्कृतिक प्रस्तुतिमार्फत सन् २०२६ को स्वागत गरिएको छ । विदेशी पर्यटकको बाक्लो उपस्थितिले यी क्षेत्रहरू झनै चहलपहलपूर्ण बनेका छन् । विश्वले सन् २०२५ लाई विदाइ गर्दा वितेको वर्ष राजनीतिक, पर्यावरणीय र सामाजिक घटनाले स्मरणीय बनेको छ ।





