आरती कुँवर
वालिङ, १४ पौष ।
स्याङ्जाको वालिङ नगरपालिका–८ स्थित मालपोत चोकबाट प्रहरीले अवैध रूपमा ओसार–पसार भइरहेको ठुलो परिमाणको सुर्तीजन्य पदार्थ बरामद गरेको छ। विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान ८ः३० बजे चेकजाँच गर्ने क्रममा उक्त अवैध सामान फेला पारेको हो । प्रदेश ३–०१०२३ च ८७५२ नम्बरको सुजुकी ईको भ्यानमा बिना बिल ढुवानी भइरहेको अवस्थामा ’सुपर पावर चक्का’ लेखिएको सुर्ती बरामद गरिएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ। प्रहरीका अनुसार बरामद गरिएको सामानमा ८ बोरा सुपर पावर चक्का सुर्ती (जम्मा ४०० पोका) र खुल्ला अवस्थामा रहेका २ पोका र थप ३६ थान सुर्ती रहेको छ ।

बरामद गरिएको सुर्ती, सवारी साधन र चालकलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, बुटवल रुपन्देही पठाइएको प्रहरीले जानकारी दिएको छ । पछिल्लो समय वालिङ क्षेत्रमा अवैध सामानको ओसार–पसार रोक्न प्रहरीले सक्रियता बढाएको छ ।
यसैबीच जिल्लाको विभिन्न स्थानमा अवैध रूपमा नदीजन्य पदार्थ (बालुवा÷गिट्टी) उत्खनन तथा ओसार–पसारमा संलग्न तीनवटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय, स्याङ्जाबाट खटिएको विशेष टोलीले छुट्टाछुट्टै मिति र स्थानमा चेकजाँच गर्ने क्रममा ती ट्याक्टरहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पुतलीबजार नगरपालिकाका विभिन्न वडामा पर्ने आँधिखोला किनारबाट अवैध ढुवानी भइरहेको अवस्थामा ट्याक्टरहरू समातिएका हुन् ।

पौष १२ गते पुतलीबजार नगरपालिका–१३, गैह्रीडाँडा स्थित आँधिखोलाबाट बालुवा लोड गरेको अवस्थामा ग १ त ६८६४ नम्बरको ट्याक्टर, सोही मितिमा बालुवा र गिट्टी मिक्स लोड गरेको अवस्थामा ग १ त ४१४४ नम्बरको ट्याक्टर र पौष १३ गते पुतलीबजार नगरपालिका–१४, लामागेबाट बालुवा लोड गरी ओसार–पसार गरिरहेको अवस्थामा ग १ त १७७४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएका सबै ट्याक्टरहरूलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि पुतलीबजार नगरपालिकाको कार्यालय, स्याङ्जामा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। नदीजन्य पदार्थको अनियन्त्रित र अवैध दोहन रोक्न जिल्लाभर प्रहरीले निगरानी बढाएको छ।





