स्याङ्जामा नवौँ वालिङ महोत्सवको तयारी तिव्र : १० करोडको कारोबार हुने लक्ष्य

0
221
Google search engine


आरती कुँवर
वालिङ, १४ पौष ।

Google search engine

‘हाम्रो गौरव, हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ वालिङमा आगामी माघ १४ गतेदेखि २५ गतेसम्म नवौँ वालिङ महोत्सव (प्रादेशिक कृषि, पर्यटन, सांस्कृतिक एवम् औद्योगिक व्यापार मेला–२०८२) आयोजना हुने भएको छ। वालिङ उद्योग वाणिज्य सङ्घको आयोजनामा वालिङ- ८ खेलमैदानमा हुन लागेको  महोत्सवको तयारीलाई तीव्र पारिएको आयोजकले सोमबार पत्रकार सम्मेलन गरि जानकारी दिईएको हो ।

महोत्सव अवधिभर करिब ३ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ। आयोजकले यस पटक १० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने लक्ष्य राखेका छन्। महोत्सवबाट करिब १ करोड ६८ लाख रुपैयाँ आम्दानी गर्ने र १ करोड १४ लाख ५१ हजार रुपैयाँ खर्च गरी करिब ५३ लाख ४८ हजार रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको छ।

महोत्सवमा कृषि, हस्तकला, औद्योगिक तथा व्यापारिक गरी करिब ३५० वटा स्टलहरू रहनेछन्। मुख्य आकर्षणका रूपमा स्याङ्जा डान्स आइडल (सिजन ४), मम्मी डान्स, टिकटक प्रतियोगिता, लोक–दोहोरी र भजन तथा रत्यौली प्रतियोगिता।
सुन्तला, ताजा तरकारी, प्राङ्गारिक कफी, पशुपालनसम्बन्धी उन्नत प्रविधि, अदुवा तथा जडिबुटी र सूचना प्रविधिको प्रदर्शनी, राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति, बाल उद्यान, अटोमोबाइल्स र फोटो प्रदर्शनी महोत्सवको आकर्षणका रुपमा रहेको छ । यस्तै महोत्सव परिसरमा आगन्तुकका लागि नि:शुल्क वाइफाइको व्यवस्था गरिनेछ।

यस्तै महोत्सव अवलोकनका लागि सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थी सहुलियतका लागि ७० रुपैयाँ टिकट दर निर्धारण गरिएको छ। साँझ ५ बजेपछिको कन्सर्टका लागि भने २५० रुपैयाँ र स्थायी पासका लागि ५०० रुपैयाँ शुल्क लाग्नेछ। वालिङ उद्योग वाणिज्य सङ्घका नवीकरण भएका सदस्यहरूलाई भने निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ। महोत्सव बिहान १०:०० बजेदेखि साँझ ७:०० बजेसम्म र कन्सर्ट राति १०:०० बजेसम्म चल्नेछ।

यस महोत्सवको संरक्षकमा वालिङ नगरपालिका र नेपाल उद्योग वाणिज्य महासङ्घ रहेका छन् भने प्रवर्द्धकमा नेपाल पर्यटन बोर्ड रहेको छ। गण्डकी प्रदेश सरकार, घरेलु तथा साना उद्योग विकास कोष र जिल्ला समन्वय समिति स्याङ्जाले महोत्सवलाई मुख्य सहयोग गरेका छन्।

वालिङलाई स्मार्ट सिटी का रूपमा विकास गर्ने लक्ष्यलाई थप टेवा पुऱ्याउन र स्थानीय कृषि उपज तथा हस्तकलालाई राष्ट्रिय बजारसँग जोड्न यो महोत्सव कोशेढुङ्गा सावित हुने महोत्सव आयोजक मूल समिति तथा प्रायोजन ब्यवस्थापन समितिका संयोजक चेतनारायण श्रेष्ठले बताउनुभयो ।

पत्रकार सम्मेलनमा  महोत्सवका निर्देशक शोभाकान्त पौडेलले महोत्सवले विगतका ८ महोत्सव सफल रूपमा सप्पन्न भएको र यसपटकको महोत्सव फरक ढंगले सञ्चालन गर्ने जानकारी गराउँदै यो पटकको महोत्सव नि सफल हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोइरालाले महोत्सवले समग्र स्याङ्जाको पहिचानलाई बोकेको हुनाले महोत्सव सफल पार्न स्याङ्जाका सञ्चार माध्यमको पुर्ण साथ रहने बताउनुभयो ।
पत्रकार सम्मेलन उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत तथा पत्रकार सम्मेलनकाबारेमा जानकारी सचिव एवम् प्रचार प्रसार उपसमिति संयोजक पिताम्बर खनाल (सुशील) ले गर्नुभएको थियो । धन्यवाद उपाध्यक्ष खगेन्द्रप्रसाद अर्यालले र सञ्चालन महासचिव रमेश अर्यालले गर्नुभएको थियो ।

Google search engine