नागरिक बचाउ अभियानका केन्द्रिय संयोजक प्रसाईंलाई गीता हस्तान्तरण

0
158
Google search engine

 वालिङ, ११ पौष । बिश्व हिन्दु युवा संघ स्याङ्जाले जिल्लाभर सञ्चालन गरिरहेको ‘एक घर, एक गीता’ अभियानलाई थप प्रभावकारी बनाउँदै लगेको छ। आफ्नो मौलिक धर्म र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ सुरु गरिएको यस अभियानअन्तर्गत संघले आज धर्म, संस्कृति तथा नागरिक बचाउ अभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाईंलाई गीता पुस्तक हस्तान्तरण गरेको छ।

Google search engine

​स्याङ्जामा आयोजित एक कार्यक्रमका बीच बिश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नवराज पौडेल तथा जिल्ला सह–प्रवक्ता कुशल बस्यालले संयुक्त रूपमा प्रसाईंलाई श्रीमद्भगवद्गीता प्रदान गर्नुभएको हो। पछिल्लो समय सामाजिक र धार्मिक जागरणमा सक्रिय प्रसाईंलाई गीताको गरिमा र महत्वलाई आत्मसात् गर्दै यसको प्रचारप्रसारमा सहयोग पुगोस् भन्ने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएको संघले जनाएको छ।

गीता ग्रहण गरेपछि आयोजित संक्षिप्त कार्यक्रममा बोल्दै संयोजक दुर्गा प्रसाईंले वर्तमान समयमा पश्चिमा संस्कृतिको बढ्दो प्रभावका कारण नेपाली मौलिकता संकटमा परेको धारणा राख्नुभयो। उहाँले भन्नुभयो, “हाम्रो सबैभन्दा ठूलो पहिचान र शक्ति भनेकै आफ्नै धर्म र संस्कृति हो। यसको संरक्षण र संवर्द्धनका लागि हामी सबै नेपालीहरू एकजुट हुनुपर्ने बेला आएको छ।” उहाँले स्याङ्जाली युवाहरूले सुरु गरेको ‘एक घर, एक गीता’ अभियानको मुक्तकण्ठले प्रशंसा गर्दै यो अभियान देशभरि फैलिनुपर्ने र यसको सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो।

विश्व हिन्दु युवा संघ स्याङ्जाले यो अभियानलाई घरदैलोसम्म पुर्‍याउने योजना बनाएको छ। अभियानको बारेमा जानकारी दिँदै संघका अध्यक्ष नवराज पौडेलले गीता केवल एउटा धार्मिक ग्रन्थ मात्र नभएर जीवन दर्शन र सफलताको सूत्र समेत भएको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले हरेक घरमा गीता पुर्‍याएर मानिसमा नैतिक मूल्य र मान्यताको विकास गर्न खोजेका हौँ।”

​संघले पुस्तक वितरणसँगै जिल्लाका विद्यालयहरूमा नैतिक शिक्षालाई अनिवार्य विषयका रूपमा लागू गराउन स्थानीय तह र सम्बन्धित निकायमा पहल गरिरहेको पनि जानकारी दिएको छ। पछिल्लो समय युवा पुस्तामा देखिएको नैतिक ह्रासलाई कम गर्न विद्यालय तहदेखि नै संस्कारयुक्त शिक्षा दिनुपर्ने संघको ठहर छ।

​जिल्ला सह–प्रवक्ता कुशल बस्यालका अनुसार, यो अभियानलाई जिल्लाका सबै पालिका र वडाहरूसम्म पुर्‍याएर प्रत्येक घरमा गीताको ज्योति छर्ने लक्ष्य राखिएको छ। आगामी दिनमा पनि यस्ता प्रवद्र्धनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिइने संघले जनाएको छ।

Google search engine