वालिङ, १ पौष ।
स्याङ्जाको भीरकोट नगरपालिकाले आर्थिक वर्ष ०८२÷०८३ को पहिलो चौमासिक सार्वजानिक सुनुवाई सम्पन्न गरेको छ । नगरपालिकाबाट प्रवाह भइरहेका सेवा र सुविधाको विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको हो ।
सार्वजनिक सुनुवाइमा नगरवासीहरूले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, कृषि, सामाजिक सुरक्षा लगायतका विषयमा आफ्ना धारणा राखेका थिए । कार्यक्रममा सहभागीले उठाएका सवालको जवाफ दिँदै सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र जनमैत्री बनाउने नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भीरकोट नगरपालिका–९, सिरकोटमा आयोजना गरिएको सार्वजानिक सुनुवाईमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण लम्सालले नगरले चालु वर्षका चौमासिक रुपमा गरेका कार्यप्रगतिका विषयमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा नगरपालिका शाखा प्रमुख तथा कर्मचारी तथा सरोकारवालाहरूको उपस्थितिमा सेवा प्रवाह, विकास निर्माण, योजना कार्यान्वयनको अवस्था, समस्या र चुनौतीबारे जानकारी गराउँदै नागरिकको गुनासो, सुझाव तथा जिज्ञासा संकलन गरेको हो । कार्यक्रम भीरकोट नगरपालिकाको आयोजना तथा छायाँदेवी मिडिया प्रा.लि., वालिङको सहजिकरणमा सम्पन्न भएको हो । नगरपालिकाले गर्ने यस्ता कार्यक्रमले स्थानीय सरकार र नागरिकबीचको सम्बन्ध मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।






