किशोरी तथा बालिकाको सुरक्षाकालागि आत्मरक्षा तालिम

0
28
Google search engine

वालिङ, २३ मङ्सिर ।
यहाँका किशोरी तथा बालिकाहरुको शारीरिक र मानसिक सुरक्षालाई मध्यनजर गर्दै आत्मरक्षा तालिम दिईएको छ । किशोरी तथा बालिकाहरुमाथि हुनसक्ने संभावित हिंसा, दुव्र्यवहार तथा असुरक्षाबाट जोगाउनकालागि उनीहरुलाई नै सक्षम र प्रतिकार गर्न सक्ने बनाउने उद्देश्यसहित स्याङ्जाको चापाकोटका किशोरी तथा बालिकाहरुलाई आत्मरक्षासम्बन्धी तालिम दिईएको हो ।
एकीकृत सेवा कार्यालय स्याङ्जाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा चापाकोटमा तालिम दिएको एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले जानकारी दिनुभयो । “किशोरी तथा बालिकाहरु एक्लै हिंडडुल गर्दा मेलापात तथा घाँस दाउरा गर्दा हुनसक्ने संभावित लैङ्गिक हिंसाको अवस्थामा आवश्यक पर्दा प्रतिकारसहित आफ्नो रक्षा आँफै गर्न सकुन् भन्ने हाम्रो उद्देश्य हो” प्रमुख पौडेलले भन्नुभयो ।
१६ दिने अभियान अन्तर्गत रहेर किशोरी तथा बालिकाहरुलाई नकारात्मक स्पर्शको विश्लेषण गर्न, नेतृत्व विकास, साईवर सुरक्षा र अपराधसँगै शारीरिक र मानसिकरुपमा आत्मसुरक्षाका चरणवद्ध सीपहरुकाबारेमा २ दिनसम्म जानकारी गराईएको थियो ।

Google search engine

“यस किसिमको तालिमले किशोरीहरुलाई सुरक्षित राख्ने उपायहरुमात्रै सिकाउँदैन” उहाँले भन्नुभयो, “उनीहरुलाई हरेक परिस्थितिलाई सामना गर्ने साहस र आत्मबलसमेत प्रदान गरेको छ ।”
गतवर्ष लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानकैक्रममा वालिङमा किशोरी तथा बालिकाहरुको आत्मरक्षासम्बन्धी तालिम सञ्चालन गरिएको र यसको प्रभावकारिता राम्रो भएपछि यसवर्ष चापाकोटमा सञ्चालन गरिएको उहाँले बताउनुभयो । चापाकोटकै आरती बस्यालले आत्मरक्षा तालिमले आँफूमा आत्मविश्वास वृद्धि गरेको बताउनुभयो । उहाँले अब समाजमा लैङ्गिक विभेदका विरुद्धमा ढुक्कसँग बोल्न र प्रतिकार गर्न सक्षम भएको बताउनुभयो । “गुड टच र ब्याड टच भन्ने थाहा भयो, हामी कसरी सुरक्षित हुन्छौं र प्रतिकारकालागि के गर्नुपर्छ भन्ने राम्रोसँग बुझें” बस्यालले भन्नुभयो, “अब म मा यति विश्वास छ कि म ढुक्कसित बोल्न र प्रतिकार गर्न सक्छु भन्ने छ ।”

कराँते प्रशिक्षक तास्बिन पुनले बालिका तथा किशोरीहरुले आत्मरक्षाकालागि अपनाउनुपर्ने प्रयोगात्मक विधिकाबारेमा अभ्यास गराउनुभएको थियो । “विशेष गरी किशोरी तथा बालिकाहरुमाथि हिंसा हुनसक्ने संभावित अवस्थाकाबारेमा सचेत गराईएको छ” उहाँले भन्नुभयो, “शारीरिक र मानसिकरुपमा प्रतिकार गर्ने प्रयोगात्मक विधि सिकाईएको छ, यसबाट उनीहरु शारीरिक र मानसिकरुपमा तयार भई आत्मरक्षा गर्नकालागि सक्षम हुनेछन् । दुई दिनसम्म सञ्चालन भएको तालिममा ६० जना किशोरी तथा बालिकाहरुको सहभागिता रहेको थियो ।

Google search engine