वालिङ, २० मंसिर ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा स्याङ्जामा विभिन्न सचेतनामुलक कार्यक्रमहरु भइरहेका छन् । यसै अन्र्तगत एकिकृत सेवा कार्यालय स्याङ्जाले स्याङ्जाका विभिन्न पालिकामा कार्यक्रमहरु गरिरहेको छ । १६ दिने अभियानका क्रममा कार्यालयको आयोजनामा सम्पन्न सचेतनामूलक कविता प्रतियोगितामा स्याङ्जा जिल्लाका ३२ जना विद्यार्थीहरु सहभागि भएका छन् । छात्र र छात्रा दुवै गरी कक्षा २ देखी कक्षा ११ सम्मका जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरु कार्यक्रममा सहभागिता जनाएका एकिकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले बताउनुभयो ।
उहाँका अनुसार प्रविधिको सहि प्रयोग गर्दै लैङ्गिक हिंसा अन्त्य गर्न यस पटकको नाराको मूल मर्म भएको हुदाँ विद्यार्थीहरुले प्रविधिको प्रयोग गर्दै घरबाटै कविता रेकर्ड गरी कार्यालयमा अनलाइन माध्यमबाट कविता पठाएका थिए । कविताहरु कार्यालयले सामाजिक सञ्जाल र रेडियोबाट प्रसारण गरिने तथा मूल्याङ्कन समितिबाट उत्कृष्ट कविताहरु छनोट गरी प्रथम, द्धितीय, तृतीय र सान्तवना हुनेलाई क्रमशः ५ हजार, ४ हजार, ३ हजार, २ हजार नगद र प्रमाणपत्र प्रदान गरिने कार्यालयले जनाएको छ ।





