वालिङ, ६ भदौ ।
स्याङ्जाको वालिङ नगरपालिका ५ जगतभञ्ज्याङमा तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । हिन्दु नारीहरुको महान चाडकोरुपमा रहेको हरितालिका तीजको अवसरमा वर्सेनी हुँदै आएको प्रतियोगिता वडा कार्यालयको आयोजनामा भएको हो ।

टोलस्तरीय प्रतियोगितामा १० समूहको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा सुरक्षा आमा समूह ए प्रथम भएको छ । द्वितीय जनहित आमा समूह र तृतीय रानाथर मिनाङकोट आमा समूह भएको छ ।

विजेता समूहहरुले क्रमशः नगद रु. १० हजार, ८ हजार र ६ हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
विजयी समूहहरुलाई पुरस्कार वितरण गर्नुहुँदै वालिङ नगर उपप्रमुख कविता तिवारी गैह«ेले तीजलाई तडकभडकरहित तरिकाले मनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले हिन्दु नेपाली नारीहरुको महान पर्वकोरुपमा रहेको तीजमा विकृति, विसंगति भित्रिन नदिई हाम्रो संस्कार, संस्कृति, चालचलनको संरक्षण र जगेर्ना गर्दै जानुपर्ने बताउनुभयो ।

कार्यक्रममा वडा नं ५ पूर्व वडा अध्यक्ष ढाकाराम पंगेनी, समाजसेवी नरप्रसाद रेग्मी, नेकपा एमाले वालिङ नगर कमिटी उपसचिव जैसरा रेग्मी, काँग्रेस महिला नेतृ जमुना खड्का, काँग्रेस वडा सचिव रमेश लामिछाने, नेकपा एमाले वडा अध्यक्ष गगनसिंह थापा, महेन्द्र माविका प्रधानाध्यापक कमलराज लम्साललगायत विभिन्न टोलका टोल संयोजक तथा प्रतिनिधिहरुले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यपालिका सदस्य जुनु थापाको स्वागतसँगै सुरु भएको उक्त कार्यक्रम वडा अध्यक्ष छविलाल आलेको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन वडा सदस्य अनिता नेपालीले गर्नुभएको थियो ।





