वालिङ, २९ साउन ।
प्राध्यापक कृष्ण खनालले खर्चिलो चुनावले कमजोर वर्ग विस्थापित भएको बताउनु भएको छ । स्याङ्जाको वालिङमा भएको कार्यक्रममा प्राध्यापक खनालले पैसा हुनेले मात्रै चुनावमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था आएको बताउनु भएको हो । उहाँले भन्नुभयो,“ज्ञान,सिप र उत्कृष्ट क्षमता हुँदाहुँदै पनि पैसाको अभावमा राजनीतिबाट विस्थापित हुनु परेको छ, जुन सारै दुःखद हो ।” यस्तो अवस्थामा परिवर्तन ल्याउन सबै लाग्नु पर्नेमा उहाँको जोड छ ।
महिलाहरुको सङ्ख्यामा पुरुष भन्दा माथि तर पहुँच र हैसियत भने तल रहेको खनालको भनाई छ । सङ्घीयता र नयाँ संविधान आएपछि यसमा सुधार आएको उहाँको भनाइ छ ।
कार्यक्रममा संविधान सभा सदस्य तथा दलित महिला केन्द्र नेपालका अध्यक्ष लक्ष्मी परियारले महिलाको नेतृत्व स्थापित गर्न सवै चनाखो हुनु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो,“संविधानमा नै व्यवस्था भएको ३३ प्रतिशत महिला सहभागीतालाई प्रभावकारी बनाउन जरुरी छ ।”
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएकी परियारले पार्टीको निर्णय तहमा महिला तथा पछाडि परेको समूहलाई पु¥याउन आफूहरुले अभियान चलाएको उहाँको भनाइ छ । आगामी स्थानीय तहको चुनावमा महिलाहरुलाई माथिल्लो तहमा टिकट दिएर उनीहरुले नै नेतृत्व गर्ने वातावरण बनाउनु पर्नेमा उहाँको जोड छ ।
महिला नेतृत्वको सवाललाई लिएर सात वटै प्रदेशका विभिन्न जिल्लामा कार्यक्रम गरिँदै आएको परियारले बताउनु भयो ।
वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रेले महिलालाई नेतृत्वमा पु¥याउन क्षमताको समेत विकास गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,“आगामी चुनावमा महिलालाई वडा अध्यक्षको रुपमा पुग्ने गराउन राजनीतिक दलहरुले अहिलेबाट नै तयारी थाल्नु पर्दछ ।” महिलाहरु सक्षम भएको र अवसरको लागि तयार रहेको उहाँको भनाइ छ ।
राजनीतिक दलको नेतृत्वमा बस्नेहरुको सोचमा परिवर्तन आउन जरुरी रहेको बताउनु भयो । नेतृत्वले हेर्ने देष्टिकोणले पछाडि परेको समूहको पहुँचमा सकारात्मक बृद्धि हुने स्पष्ट हुने स्पष्ट पार्नु भयो ।
वालिङ नगरपालिकाको आयोजना तथा दलित महिला केन्द्र नेपालको सहकार्यमा आयोजना गरिएको प्रभावकारी र समावेशी स्थानीय सरकार सवलिकरण कार्यक्रम अन्तर्गत ‘स्थानीय तहको निर्वाचनमा महिला जनप्रतिनिधिको सहभागिता सुनिश्चितता’ बिषयक कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि,जनप्रतिनिधि,दलित महिला क्षेत्रका अगुवाहरुको सहभागिता रहेको दलित महिला केन्द्र नेपालका फिल्ड अधिकृत रितेश शाशंकर (विक)ले जानकारी दिनुभयो ।





