तोलाकान्त बगाले
वालिङ ८, साउन ।
स्याङ्जाको गल्याङ नगरपालिका १ रामनदीधाम राम्दीस्थित पवित्र कालीगण्डकी नदी किनारको राम्दीघाट प्रदुषित बन्दै गएको छ । पवित्र कालीगण्डकी नदी किनारमा रहेको राम्दीघाट दाहसंस्कारमा प्रयोग गरिएका काठ, बाँस, कपडा, प्लाष्टिकजन्य फोहोरहरु ब्यवस्थित गर्न नसक्दा प्रदुषित बन्दै गएको हो ।
नदी किनारमा शव जलाउने ब्यवस्थित शवदाह स्थल नभएकाले पनि मलामीहरुले जतासुकै शव जलाउने गरेका छन् । शव जलाईसकेपछि बाँकी रहेका काठ दाउरा, लत्ताकपडा, पानीका बोत्तल, प्लास्टिक, आगोका कोईलाहरु मलामीले ब्यवस्थित नगरिंदिदा पनि प्रदुषित बन्दै गएको हो ।

शवदाह गरिने कालीगण्डकी नदी किनारको सरसफाईको जिम्मेवारी रामनदीधाम संस्कृत गुरुकुलमले लिएको छ । गुरुकुलमले कर्मचारी खटाएर सरसफाई गर्दै आएको गुरुकुलमका प्रधानाध्यापक कृष्णप्रसाद बस्यालले बताउनुभयो ।
“पवित्र कालीगण्डकी नदी किनारको शवदाह गर्ने स्थल गुरुकुलममार्फत कर्मचारी खटाएर सरसफाई गर्दै आईरहेका छौं” उहाँले भन्नुभयो, “एकजना कर्मचारीले निरन्तररुपमा सरसफाई गर्दै आएपनि मलामीहरुले फोहोरमैलालाई ब्यवस्थित नगरिंदिदा थप समस्या भएको छ ।”
शव जलाईएको स्थलमा प्रयोग गरिएका सामग्रीहरु जथाभावी नफाल्न, शवलाई पूरै जलाउन र जलाएको ठाउँमा भएका कोईला, दाउरा, बाँस तथा कपडाहरुको ब्यवस्थापनमा मलामीहरुले पनि ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।
“एक जना कर्मचारीले सफा गर्ने धेरैले फोहोर गर्ने हो भने कसरी सरसफाई हुन सक्ला र ?” उहाँले भन्नुभयो, “यसमा गुरुकुलमकोतर्फबाट भएका कमी कमजोरीहरुलाई सुधार गर्दै अगाडि बढ्ने र मलामीहरुले पनि सरसफाईमा विशेष ध्यान दिनुभएमा सहजता हुने थियो ।”

शवदाह स्थलमा आवश्यक पर्ने दाउरा गुरुकुलमले बिक्री गर्दै आएको छ । स्थानीय ब्यापारीहरुसित गुरुकुलमले प्रति चट्टा रु. दुई हजार ५ सयका दरले दाउरा खरिद गरी रु. तीन हजारमा मलामीलाई बिक्री गर्दै आएको छ । प्रति चट्टा दाउरा बिक्रीबाट रु. ५ सय गुरुकुलम सञ्चालनको खातामा जम्मा हुने गरेको छ ।
कालीगण्डकी नदीको किनारमा सिद्धार्थ राजमार्गसँग जोडिएको रामनदी बजारबाट निस्कने कुहिने, नकुहिने फोहोरहरु पनि नदी किनारमै फालिने गरेकाले पनि नदी किनार प्रदुषित देखिएको हो ।

सिद्धार्थ राजमार्गकाकारण यातायातको सहज पहुँच भएकाले पनि तुलनात्मकरुपमा स्याङ्जाका अन्य घाटहरुमाभन्दा रामनदीधाममा बढी शवको अन्त्येष्टि गर्ने गरिएको छ ।
कालीगण्डकी नदीको किनारमा रहेका घाटहरुमा सदिऔंदेखि आ–आफ्नो परम्परा अनुसार दाहसंस्कार गरिंदै आएको छ ।
पवित्र तीर्थस्थल मुक्तिनाथ क्षेत्रदेखि प्रवाहित कालीगण्डकी नदीको धार्मिक महत्व उच्च छ । शालग्राम पाईने विश्वकै एकमात्रै नदीकोरुपमा चिनिएको कालीगण्डकीको पवित्रता एवम् ऐतिहासिकता पृथक खालको रहेको छ ।





