१८ वर्षको उमेरदेखी निरन्तर समाजसेवामा जिपकला

0
363
Google search engine

आरती कुँवर
वालिङ, १२ साउन ।
वालिङ, १३ बोधीभञ्ज्याङकी जिपकला विक निरन्तर समाजसेवामा लाग्नुभएको छ । उहाँको सामाजिक यात्रा भने १८ वर्षको उमेरदेखीको हो । विवाह गर्नुअघि नै जिपकला समाजसेवामा सक्रिय हुनुहुन्थ्यो र उहाँको बुवाले पनि उहाँलाई समाजसेवामा लाग्न प्रेरणा दिनेगर्नुहुन्थ्यो । त्यही समयमा उहाँले आम मानिसहरुबाट राजनीतिक वातावरणको बारेमा थप जानकारी हासिल गर्नुभएको थियो ।
विं.सं. २०७९ को वैशाखमा भएको निर्वाचनले जिपकलाको जीवनमा एउटा नयाँ मोड ल्यायो । यो चुनावले जिपकलालाई समाजसेवामा थप सक्रिय बनायो । “म १८ वर्षको हुँदा देखी नै सामाजिक कार्य गर्न रुचि राख्थे, सामाजिक कामहरु गरेपनि राजनीतिमा प्रवेश गरेको भने २०७९ को निर्वाचनबाट हो । उहाँले भन्नुभयो ।” समाजसेवामा रुचि सानै उमेरदेखी भएपनि वडा सदस्य भने उहाँ पहिलो पटक बन्नुभएको हो ।

Google search engine


विवाहपश्चात पनि जिपकलाले श्रीमान र परिवारको सहयोगमा सामाजिक कार्यलाई निरन्तरता दिनुभयो । घरधन्दा, परिवारको जिम्मेवारी, सन्तानको लालनपालन लगायतका जिम्मेवारीले पनि उहाँलाई सामाजसेवाका लागि भने रोक्न सकेन । किराना पसल, गोठका गाईवस्तु, परिवारको जिम्मेवारीसंगसंगै समाजको जिम्मेवारी अहिले जिपकलाको काँधमा छ ।
उमेरले उहाँ अहिले ५२ वर्ष हुनुभयो, श्रीमान तथा चार सन्तानले उहाँलाई सामाजिक कार्यका लागि साथ दिने गर्नुहुन्छ । “उहाँ भन्नुहुन्छ, श्रीमानले तिमीलाई रुचि छ भने समाजसेवा गर भन्नुहुन्थ्यो, हौसला दिने गर्नुहुन्छ, अनि छोराछोरीले पनि मलाई साथ दिएका छन् ।”
वालिङ, १३ बोधीभञ्ज्याङमा व्राह्मण तथा मगर जातिको बसोबास रहेको छ भने २५ घर दलित बस्ति छन् । जिपकलाले आफ्नै सक्रियतामा आमा समुह गठन गरि समुहको प्रतिनिधित्व समेत गर्नुभएको थियो । “समाजसेवामा औधि रुचि थियो, त्यही भएर धेरै वर्ष सामाजिक काममा बिताए, अहिले वडा सदस्यमा निर्वाचित बने उहाँले भन्नुभयो ।”
२०७९ को निर्वाचनका ताका विभिन्न समस्याहरु उहाँले झेल्नुपर्यो, दलितलाई समाजले हेर्ने दृष्टिकोण फरक रहेकाले पनि उहाँलाई चुनाव ताका गाह्रो नभएको भने होइन । दलित समुदायबाट चुनावमा होमिएका कारण अन्यलाई भन्दा अलि असहज भएको उहाँ सम्झनुहुन्छ । “उहाँले भन्नुभयो, म दलित समुदायबाट उम्मेदवार थिए, अलिकति फरक व्यवहार मैले महसुस गरे, तर मलाई भरोसा, विश्वास गरेर मत दिनुभयो म विजयी भए ।” आफुँ वडा सदस्य भैसकेपछि भने समाजले हेर्ने दृष्टिकोण र व्यवहारमा भने केही फरक पाएको उहाँ बताउनुहुन्छ ।
वडा सदस्य भइसकेपछि पनि उहाँ विभिन्न कार्यक्रमहरुमा सहभागि बन्दा आफ्नो नाम भन्न समेत नसकेको सम्झनुहुन्छ । विगत लामो समयदेखि “द यसिया फाउन्डेशन” को प्राविधिक सहयोगमा र “दलित महिला केन्द्र नेपाल” ले वालिङ नगरपालिकासंग समन्वय गरी वालिङ नगरपालिकाका जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि गर्नका लागि सक्रियतापूर्वक विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ ।
उहाँ भन्नुहुन्छ, म पहिलो पटक निर्वाचित दलित महिला प्रतिनिधि हुँ, स्थानिय तहमा एक प्रतिनिधिको जिम्मेवारी केही पनि थाहा थिएन्, कहीँ कार्यक्रम, गोष्ठी, समारोह लगायतका कार्यक्रममा जान पर्दा आफ्नो भनाई राख्न समेत नसक्ने अवस्था थियो, तर यस दलित महिला केन्द्र नेपाल ले निरन्तर दिएको प्रशिक्षणले अहिले धेरै विषयमा सक्षम बनाएको छ । यस संस्थाप्रति आभारी छु, म जस्ता कैयौँ जनप्रतिनिधिको साथी बनेको छ, अन्य दिनमा पनि यस प्रकारका कार्यक्रम तथा तालीमहरुलाई निरन्तरता दिओस भन्ने माग पनि गर्छु ।
“तालीमहरुले धेरै प्रभाव पार्दो रहेछ, जनप्रतिनिधि भएपछि विभिन्न कार्यक्रमहरुमा जानुपर्ने म त नाम भन्न पनि डराउँथे, खुट्टा थरथरी काप्थ्यो, तालीमहरु लिएपछि अहिले त धेरै सहज भएको छ । उहाँले भन्नुभयो ।”


उहाँ निर्वाचित भएपश्चात महिला दिदीबहिनीहरुलाई सिलाई कटाई सम्बन्धि आधारभूत तथा एडभान्स तालीम, उद्घोषण तथा क्षमता विकास तालीम प्रदान गर्नुभएको छ । एक घर, एक धारा निर्माण अभियानबाट उहाँले दलित बस्तिको हरेक घरमा खानेपानीको धारा जडान गर्नुभएको छ । ३ विपन्न परिवारलाई घर निर्माण तथा विपन्न परिवारलाई जस्ता पाता वितरण समेत गर्नुभएको छ ।
उहाँ जनप्रतिनीधि भइसकेपछि समुदायमा धेरै परिवर्तनहरु भएका छन् । समुदायले उहाँको कामको खुलेरै प्रशंसा गर्ने गरेका छन् । जिपकला विक हाम्रो समाजमा दलित महिलाहरुको उत्थान र राजनीतिक सहभागिताको एक प्रेरणादायी उदाहरण हुनुहुन्छ । उहाँको यो यात्राले अन्य महिला र विशेषगरी दलित समुदायका युवाहरुलाई समाजसेवा र राजनीतिमा लाग्न प्रेरित गर्नेछ ।

Google search engine