वालिङ ८, साउन ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न मुद्दाका सात फरार कसुरदारलाई बिहीबार पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय वालिङबाट खटिएको विशेष अप्रेशन टोलीले स्याङ्जा जिल्ला अदालतबाट विभिन्न मितिमा मुद्दा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका विभिन्न मुद्दाका सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिनुभयो ।
चेक अनादर, केही सार्वजनिक अपराध, लेनदेन, कुटपिट तथा लुटपाट, लागु औषध, सवारी ज्यान, नकवजनी चोरी, चोरी मुद्दाका सात जनालाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुबाट रु. ८४ हजार ३९४ जरिवाना तथा सात वर्ष एक महिना कैद भुक्तान गर्नुपर्ने भएको हो ।
चेक अनादरमा स्याङ्जाको वालिङ नगरपालिका ८ बस्ने किशोर कोईराला, केही सार्वजनिक अपराधमा वालिङ नगरपालिका १३ बस्ने रेशम भनिने रमेश परियार, लेनदेन मुद्दामा वालिङ नगरपालिका १ बस्ने लीलादेवी काफ्ले, कुटपिट तथा लुटपाटमा संलग्न वालिङ नगरपालिका ५ बस्ने शान्ति विक, सोही मुद्दामा वालिङ ५ बस्ने माया विक, लागु औषधमा साविक पकवादी गाविस ६ हाल गल्याङ नगरपालिका १० बस्ने मीनबहादुर थापा मगर, सवारी ज्यान मुद्दामा आलमदेवी छापडाँडा बस्ने ओमबहादुर थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तैगरी भीरकोट नगरपालिका बस्ने उम्मर अलि मिया, नकवजनी चोरी मुद्दामा भीरकोट नगरपालिका २ बस्ने मित्रबहादुर दर्जी, चोरी अन्य मुद्दामा भीरकोट नगरपालिका ७ बस्ने हरिबहादुर कोईराला, चोरी मुद्दामा भीरकोट नगरपालिका ७ बस्ने धनबहादुर खवास रहेका छन् । मिया, दर्जी, कोईराला र खवासको यसअघि नै मृत्यु भएकाले उनीहरुको लगत कट्टा गरिएको हो ।
पक्राउ परेकाहरुलाई जरिवाना भुक्तानकालागि स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराईएको सूचना अधिकारी चौधरीले जानकारी दिनुभयो ।
“सम्मानित अदालतबाट भएको फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने गरी अगाडि बढेका छौं” उहाँले भन्नुभयो, “न्यायिक कारवाहीलाई पूर्णता दिंदै सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चितताकालागि विशेष अप्रेसनहरु सञ्चालन भईरहेका छन् ।”
जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा मातहतका प्रहरी कार्यालयहरुले पछिल्ला दिनहरुमा फरार कसुरदारहरुको खोजी कार्यलाई तिब्रता दिएसँगै पक्राउ पर्नेक्रम पनि बढेको छ ।





