वालिङ, ७ साउन ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोईरालाको ४३ औं स्मृति दिवस आज स्याङ्जामा विविध कार्यक्रम गरी मनाईएको छ । स्याङ्जाका विभिन्न ठाउँमा फरक फरक कार्यक्रम गरी स्मृति दिवस मनाईएको हो । स्याङ्जाको वालिङमा नेपाली कांग्रेस वालिङ नगर समितिको आयोजनामा आज बीपीचोकमा बीपीको शालिकमा माल्यार्पण गरिएको हो ।
बीपीको शालिकमा माल्यार्पण गर्नुहुँदै गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति एवम् कांग्रेस नेता भोजराज अर्यालले महामानव बीपी कोईरालाको नीति तथा सिद्धान्त अझै पनि ताजै रहेको र देश तथा विदेशमा बीपीको सिद्धान्तहरु कार्यान्वयन भईरहेको बताउनुभयो ।
बीपीको मेलमिलाप नीति अन्तराष्ट्रिय स्तरमा समेत कार्यान्वयन भएको भन्दै नेपाली कांगे्रसले बीपीको सिद्धान्त भुल्न नहुँने भन्दै उहाँले मार्गनिर्देश गर्नुभएको बाटोमा नेपाली कांग्रेस अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांगे्रसका नेता कार्यकर्ताहरुले बीपीको आदर्श र सिद्धान्तलाई आत्मसात गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो । वालिङ नगर सभापति नेत्र प्रसाद पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला सचिव दामोदर लम्सालले गर्नुभएको थियो ।
यसैबीच नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री महामानव वि.पि. कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा अर्जुनचौपारीमा वृक्षारोपण गरिएको छ। नेपाली कांग्रेस अर्जुनचौपारी गाउँ कार्यसमितिद्वारा गरिएको वृक्षारोपण कार्यक्रममा करिब २०० वटा धुपी, कलकी, कपुर, रुद्राक्ष लगायतका बिरुवा रोपिएका छन्।
वृक्षारोपण कार्यक्रम अर्जुनचौपारी गाउँपालिका–३ र ४ को सिमानामा अवस्थित ऐतिहासिक एकानन्द गुफा तथा गौशाला परिसरमा आयोजना गरिएको थियो। वातावरण संरक्षण र हरियाली प्रवद्र्धनको उद्देश्यसहित गरिएको कार्यक्रममा गाउँपालिका करिब १ सय जना सहभागी थिए। कार्यक्रममा शोभाकान्त काफ्ले , सपना गुरुङ , प्रेम पौडेल लगायतले आफ्नो भनाई राख्नुभएको थियो ।






