वालिङ, ७ साउन ।
बैंकिङ तथा अंशवण्डा मुद्दाका फरार चार कसुरदारलाई मंगलबार स्याङ्जा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अप्रेशन टोलीले स्याङ्जा जिल्ला अदालतबाट विभिन्न मितिमा मुद्दा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिनुभयो ।
बैंकिङ कसुर मुद्दामा स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका १ घर भई हाल कास्की जिल्ला पोखरा महानगरपालिका १५ नयाँ गाउँ बस्ने मीना खातीलाई पक्राउ गरेको हो । खातीलाई १० दिन कैद भुक्तान र रु. सात लाख २५ हजार जरिवाना रहेको सूचना अधिकारी चौधरीले जानकारी दिनुभयो ।
त्यस्तै अंशबण्डा मुद्दामा स्याङ्जा जिल्ला चापाकोट नगरपालिका ३ बस्ने हरिप्रसाद पौडेल, सोही ठाउँ बस्ने कृष्णप्रसाद पौडेल र यामाया पौडेललाई रु. ५७ हजार ८ सय ७७ जरिवाना तोकिएकोमा फरार रहेकाले पक्राउ गरी जरिवाना भुक्तानकालागि स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराईएको सूचना अधिकारी चौधरीले जानकारी दिनुभयो ।
“सम्मानित अदालतबाट भएको फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने गरी अगाडि बढेका छौं” उहाँले भन्नुभयो, “न्यायिक कारवाहीलाई पूर्णता दिंदै सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चितताकालागि विशेष अप्रेसनहरु सञ्चालन भईरहेका छन् ।” जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पछिल्ला दिनहरुमा फरार कसुरदारहरुको खोजी कार्यलाई तिब्रता दिएसँगै पक्राउ पर्नेक्रम पनि बढेको छ ।
यसैबीच जिल्लाका विभिन्न स्थानमा गाँजाका बोटहरु फडानी गरेको छ । जिल्ला प्रहरी कार्यालय, मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोली लगायत स्थानिय तहका पदाधिकारीहरू, युवा क्लव, आमा समूहको सक्रियतामा मंगलबार जिल्लाका विभिन्न स्थानका गरी एघार हजार ५४ गाँजाका बोटहरु फडानी गरी नष्ट गरिएको छ । अवैध लागु पदार्थ नियन्त्रण, समाजमा शान्ति सुरक्षाको पर्वद्धन, कानुनको कार्यान्वयन तथा जनचेतना अभिवृद्धि गर्ने उदेश्यले गाँजका बोटहरु फडाँनी गरिएको र आगामि दिनमा समेत यस कार्यक्रमलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।







