वालिङ, ४ साउन ।
संभावित जोखिमलाई मध्यनजर गर्दै आज राति स्याङ्जामा सवारी साधनहरु सञ्चालन नगर्न आग्रह गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले स्याङ्जासहित छिमेकी जिल्लाहरुमा भारी वर्षा हुने प्रक्षेपण गरेकाले संभावित जोखिमलाई मध्यनजर गरी रातको समयमा सवारी साधनहरु सञ्चालन नगर्न नगराउन अनुरोध गरेको हो ।
स्याङ्जामा आज बिहानैदेखि अविरल वर्षा भईरहेको र भोलि सम्म नै वर्षा हुने भएकाले संभावित जोखिमलाई मध्यनजर गर्दै जनधनको क्षति हुन नदिनकालागि जिल्ला सुरक्षा समितिले निर्णय गरेको स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताउनुभयो ।
“मौसम पूर्वानुमान महाशाखाले भारी वर्षा हुने भनी प्रक्षेपण गरेकाले आज साँझ ५ बजेदेखि भोलि बिहान ५ बजेसम्म १२ घण्टा अत्यावश्यकबाहेक अन्य कुनै पनि सवारी साधन सञ्चालन नगर्न अनुरोध गरेका छौं” उहाँले भन्नुभयो, “अत्यावश्यकबाहेकका सवारी साधनहरु सञ्चालन गर्नैपर्ने अवस्था आएमा नजिकको सुरक्षा निकायसँग समन्वय गरी सवारी सञ्चालन गर्ने निर्णय गरेको हो ।”
स्याङ्जा जिल्लाको मध्यभाग भएर सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग झण्डै ९० किलोमिटर रहेको छ । सिद्धार्थ राजमार्ग तथा जिल्लाभित्रका अन्य सहायक सडकहरुमा पनि रातको समयमा सवारी साधनहरु सञ्चालन नगर्न जिल्ला सुरक्षा समितिले निर्णयसहित अनुरोध गरेको हो ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति स्याङ्जाले आवश्यक समन्वयकालागि जिल्ला प्रशासन कार्यालय कास्की र पाल्पालाई समेत अनुरोध गरेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा मातहतका सबै प्रहरी ईकाईहरु, ट्राफिक प्रहरी र जिल्लास्थित सबै यातायात ब्यावसायीहरुलाई यसको समन्वय र कार्यान्वयनकालागि सूचना गरिएको उहाँले बताउनुभयो ।
संभावित वर्षाको कारणले भूक्षय, बाढी, पहिरोको जोखिम रहेकाले कालीगण्डकी नदी किनार, आँधीखोलालगायतका स्थानीय खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन पनि जिल्ला सुरक्षा समितिले सर्वसाधारणहरुलाई सतर्क रहन आग्रह गरेको छ ।





