वालिङ, २ साउन ।
स्याङ्जाको प्रसिद्ध तिर्थस्थल छायाँक्षेत्र छाङ्छाङ्दी शिव मन्दिर भीरकोट ४ छाङ्छाङ्दीमा साउन संक्रान्तिको अवसरमा उल्लेख्य भक्तजनले मन्दिर दर्शन तथा पूजा आजा गरेका छन् । यसै अवसरमा मन्दिरमा भण्डै २ लाख भेटि संकलन भएको छ ।
मन्दिर व्यवस्थापन समितिका सचिव तथा आर्थिक संकलन समितिका संयोजक शोभाकान्त पौडेलका अनुसार स्टल बिक्रीबाट एक लाख २७ हजार ८ सय, सहयोग रसिदबाट ६ हजार ४ सय ५१, मुल मन्दिर तथा भजन मण्डलीबाट १६ हजार ३ सय ५०, दानपेटिकाबाट १३ हजार ४ सय ७०, जलधाराबाट ३० हजार २ गरी जम्मा १ लाख ९४ हजार ७३ रुपैयाँ भेटि संकलन भएको छ ।
साउन संक्रान्तिको अवसरमा मन्दिर दर्शन तथा पुजाआजा गर्नेको भीड लागेको पौडेलले बताउनुभयो । साउन महिना शिव भगवानको प्रिय महिना भएकाले मन्दिर दर्शनका लागि टाढाटाढाबाट भक्तजन आउने गरेको उहाँले बताउनुभयो ।
यसैबीच
साउनको महिना महादेव शिवको प्यारो र पवित्र महिना मानिंदै आएको र शिव पार्वतीको महिमासित जोडिएको पवित्र स्थल भएकाले यहाँ साउन महिनाभर महाआरति गरिने छायाँक्षेत्र शिवमन्दिर ब्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले बताउनुभयो ।
मन्दिरमा अरुबेला दैनिक सामान्य प्रकारको आरतिहरु गरिने भएतापनि पवित्र महिनाकोरुपमा रहेको साउनमा महाआरति गरिने भएको हो ।
“ब्यवस्थापन गर्न सकेको खण्डमा वर्षैभरी महाआरति गर्दा राम्रो हुन्थ्यो तर वर्षेनी महाआरति गर्न सक्ने अवस्था छैन” उहाँले भन्नुभयो, “महाआरतिलाई दीगो र ब्यवस्थित गराउने विषयमा योजना बनाई अगाडि बढ्ने तयारीमा छौं ।”
श्रद्धालु भक्तजनहरुले आफ्ना दिवंगत पितृको स्मृति, शुभकार्य, जन्मोत्सव, वैवाहिक वर्षगाँठ लगायतका अवसरमा महाआरति गर्न चाहेमा मन्दिर ब्यवस्थापन समितिले ब्यवस्थापन मिलाउने उहाँले बताउनुभयो ।
साउन महिना सुरु भएसँगै दिनहुँ बेलुका साढे ६ बजेदेखि ८ बजेसम्म भजनकिर्तनसहित महाआरति सञ्चालन गरिने भएको हो ।





