दलित समुदायको सशक्तिकरणमा अनिताका आठ वर्ष

0
181
Google search engine

तोलाकान्त बगाले
वालिङ ३० असार ।

Google search engine

वालिङ ५ कि अनिता नेपाली २०७४ र २०७९ सालमा गरी दुई पटक वडा सदस्य पदमा बिजयी हुनुभयो । २०७४ सालको स्थानीय तहको निर्वाचनका बेलासम्म उहाँलाई राजनीतिकाबारेमा अनभिज्ञ हुनुहुन्थ्यो ।
०७४ को निर्वाचनमा उहाँलाई दलित महिला वडा सदस्यको टिकट प्राप्त भयो । सामाजिक संघ संस्था तथा टोलहरुमा रहेर धेरै थोरै काम गरेको अनुभवमात्रै उहाँसित थियो । टिकट आयो निर्वाचनमा होमिनुपर्ने अवस्था आईप¥यो । कता–कता डर पनि लाग्न थाल्यो साँच्ची निर्वाचन जितिन्छ कि नाई ? तर आँफूलाई सम्हालेर दृढ संकल्पित भएर लाग्नुभयो र जिम्मेवारी आफ्नो पोल्टामा पार्न सफल हुनुभयो ।
जिम्मेवारी आएपछि सकेजति त कार्य सम्पादन गर्नुभयो । महिला भएपछि घरको काम धन्दा सकाएर हिंड्नुपर्ने अनि अर्कोतिर घरमा लालाबाला छोराछोरीको हेरचाह सबै । समय ब्यवस्थापन कतिपय चाहेर पनि सहभागी हुन खोज्दा खोज्दै पनि अवसरहरु गुमे । हुन त घरमा सासु ससुरा, श्रीमानले पूर्णरुपमा साथ र सहयोग गर्नुभएकैकारण आज यस स्थानमा आउन सफल भएको उहाँ बताउनुहुन्छ ।
घरबाट बाहिर निस्कन सामाजिक सेवामा लाग्नकालागि घर परिवारबाट साथ सहयोग चाहिने रैछ मेरो हकमा त्यो पूर्णरुपमा पाएँ । नयाँ क्षेत्र भएकाले पहिलो कार्यकाल सिक्दा सिक्दै, बुझ्दा बुझ्दै सकियो । २०७९ मा पनि सोही पदमा उहाँ उम्मेदवारी बन्नुभयो अन्ततः उहाँलाई वडाबासीले पुनः ५ वर्षकालागि दोस्रो कार्यकालको पनि जिम्मेवारी दिनुभयो ।
एक कार्यकाल परीक्षण भईसकेको ब्यक्तिलाई दोस्रो कार्यकाल निर्वाचित हुनकालागि अप्ठ्यारो हुने गरेको छ । कि त निर्वाचित हुनकालागि अत्यन्तै राम्रो नमूना, उदाहरणीय काम गर्नुप¥यो होईन भने पराजय भोग्नुपर्ने बाध्यता छ । पहिलो कार्यकाल पूरा गरेर पुनः दोस्रो कार्यकालकालागि वडाबासीबाट पुनः निर्वाचनमार्फत अनुमोदन हुनुभएकी नेपालीलाई सोध्दा उहाँ भन्नुहुन्छ, “मैंले वडाबासीहरुसँग गरेका प्रतिवद्धता र त्यसको कार्यान्वयनले नै होला जस्तो लाग्छ ।”
जनप्रतिनिधि भईसकेपछि पनि मनमा लागेका कुराहरु समूहमा ब्यक्त गर्न नसक्ने, बोल्ने बानीको विकास भएन । जनप्रतिनिधि त भईयो तर आफ्नो काम, कर्तब्य, जिम्मेवारी, अधिकार के हो ? भन्ने पनि जानकारी थिएन । विस्तारै वालिङ नगरपालिका, विभिन्न संघ संस्थाहरु, सिडिडब्ल्युएन लगायतका कार्यालय तथा संस्थाहरुले आयोजना गरेका तालिम, प्रशिक्षणहरुमा सहभागी हुने मौका मिल्यो । यसप्रकारका तालिम तथा प्रशिक्षणहरुबाट आफ्नो जिम्मेवारीकाबारेमा थाहा हुँदै गयो थप उर्जा मिल्दै गयो ।
विशेष गरी जनप्रतिनिधि भईसकेपछि सबै नागरिकलाई वडाबासीलाई समान ढंगले विना भेदभाव कर्तब्य निर्वाह गर्नुपर्ने हुँदाहुँदै पनि आँफू दलित समुदायबाट प्रतिनिधित्व गरेकाले पनि दलित समुदायको सशक्तिकरण, कानूनी साक्षरता, आत्मनिर्भरताका सवालहरुलाई आवाज उठाउँदै आईरहें । अहिले पनि दलित समुदायका दिदीबहिनी, दाजुभाईहरुलाई एकैठाउँमा जम्मा गरेर मासिकरुपमा दलित समुदायमा कानूनी विषयहरु, गाउँ टोलमा देखिएका समस्याहरुकाबारेमा वा समस्या आउन नदिनकालागि पूर्व सचेतनास्वरुप अन्तरक्रियाहरु आँफूले सिकेका ज्ञानगुनका कुराहरु अरुसमक्ष जानकारी गराउँदै आउनुभएको छ ।
वडाको दलित समुदायको बाक्लो वस्ती रहेको मझकोटमा उनीहरुको आर्थिकस्तर माथि उकास्ने उद्देश्यसहित विभिन्न आत्मनिर्भरतासम्बन्धीमा तालिम, सीप हस्तान्तरण, कुखुराका चल्ला, बंगुरका पाठापाठी वितरण गर्ने गरिएको छ ।
“पछाडि परेको दलित समुदायलाई उनीहरुको हक अधिकार, कानूनी विषयहरुकाबारेमा अवगत गराउँदै अगाडि बढ्दै छु” उहाँले भन्नुभयो, “समाजमा हुने जातीय विभेदको अन्त्यकालागि दलित र गैरदलित समुदायका नागरिकहरुलाई एकैठाउँमा राखेर सचेतना कार्यक्रम सञ्चालन गरेकाले पनि विगतमा देखिंदै आएका समस्याहरु पछिल्ला वर्षहरुमा तुलनात्मकरुपमा कममात्रै आउने गरेका छन् ।”
अनिता आँफैले १५ वर्षको उमेरमा विवाह गर्नुभएको हो । उहाँलाई त्यतिबेला थाहा थिएन सानै उमेरमा विवाह गर्नहुन्न भन्ने तर आज उहाँ जनप्रतिनिधि भएर सामाजिक क्षेत्रमा काम गर्दै गर्दा सानै उमेरमा विवाह गर्दा हुने बेफाईदाहरुकाबारेमा बालबालिकाहरुलाई सिकाउन सक्ने हुनुभएको छ ।
अझ कहिलेकाँही त वडा कार्यालयमा कार्यवहाकको जिम्मेवारी लिएर बस्दै गर्दा आईपर्ने कानूनी अडचनहरुले उहाँलाई अप्ठयारो गराउँछ । कतिपय विषयहरुको ज्ञान भएपनि केही केही नयाँ र नौलो लाग्ने गरेकाले वडा अध्यक्ष, नगरपालिकाको सम्बन्धित शाखा, ईलाका प्रशासन, प्रहरीमा जानकारी लिएर पनि नागरिकलाई सेवा दिनुभएको अनुभव उहाँसित छ ।
समय समयमा प्राप्त हुने तालिम, गोष्ठी, प्रशिक्षण र त्योभन्दा बढी आँफै प्रत्यक्ष संलग्न भएर गरिएका कार्यहरुबाट सिक्ने अवसर प्राप्त भएको उहाँ बताउनुहुन्छ । हिजो आफ्ना कुराहरु बाहिर अभिब्यक्त गर्न नसक्ने अनिता आज वडा कार्यालय वा अन्य संघ संस्था कार्यालयहरुले गर्ने कार्यक्रमहरुमा निर्धक्कसित नहिच्किचाईकन जुनसुकै विषयमा पनि आफ्ना धारणाहरु ब्यक्त गर्न सक्ने क्षमता उहाँमा विकास भएको छ ।
“हिजोका दिनमा कार्यक्रम सञ्चालन गर्न, अथवा मन्तब्य राख्नकालागि जनप्रतिनिधिकोरुपमा आमन्त्रण गर्दा डराउँथे, के भन्ने होला, के बोल्ने होला, कतै विग्रन्छ कि भन्ने हुन्थ्यो” उहाँले भन्नुभयो, “आज निर्धक्कसित जुनसुकै विषयमा पनि तयारी गरेर बोल्न सक्ने, आफ्ना धारणाहरु अभिब्यक्तिहरु राख्न सक्ने भएकी छु, आत्मविश्वास बढेको छ ।”
जनप्रतिनिधि हुनुपर्व अनिताले मझकोट टोलमा आईपर्ने सामाजिक कार्यहरुमा अगुवाई गर्नुहुन्थ्यो । उहाँ नागरिक सचेतना केन्द्रको संयोजक भएर काम गर्नुभएको थियो भने वडामा महिला स्वास्थ्य स्वयंसेविकाकोरुपमा पनि काम गरेको अनुभव संगालिसक्नुभएको थियो ।
दुई–दुई पटक वडामा दलित महिला सदस्यकोरुपमा निर्वाचित भएर वडाबासीको सेवामा खटिनुभएकी अनिता भन्नुहुन्छ “अबको लक्ष्य भनेको वडाको नेतृत्व लिने हो, वडा अध्यक्ष हुने हो, हेरम भोलिको राजनीति कसरी अगाडि बढ्छ, त्यसमा भरपर्छ ।”
३५ वर्षीया अनिताले शिक्षाको महत्व बुझेसँगै वडावासीहरु त्यस्मा पनि र विशेष गरी दलित समुदायका नागरिकहरुलाई शिक्षा लिनबाट बञ्चित नहुन र प्राथमिकतामा राखेर अध्ययन गर्नुपर्नेमा जोड दिनुहुन्छ ।
बालबालिकालाई नियमित विद्यालय पठाउनुपर्नेमा अभिभावकहरुलाई सचेत गराउनुहुन्छ । उहाँले आफ्नै उदाहरण दिंदै भन्नुहुन्छ “शिक्षाको महत्व कति छ भन्ने मैंले बल्ल बुझ्न पाएँ, जब बुझें तब खुल्लारुपमा गतवर्षमात्रै पूर्णामृत भवानी मावि वालिङबाट एसईई दिएँ र उत्तीर्ण पनि भएकी छु ।”
अनिताको परिवारमा अहिले सासु ससुरा, श्रीमान्, दुई छोरी र एक छोरा हुनुहुन्छ । छोराछोरी हुर्किसकेका छन् भने श्रीमान् र सासुससुराको साथ र सहयोगले सामाजिक क्षेत्रमा अगाडि बढ्न मद्दत पुगेको छ ।

Google search engine