आरती कुँवर
वालिङ, १५ असार ।
आज २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव स्याङ्जामा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । असार १५ गतेलाई राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव एवम् दही चिउरा खाने दिनका रुपमा मनाउने गरिन्छ । यसै सन्दर्भमा कृषि विकास श्रोत केन्द्र वालिङ, १ यवादीको आयोजनामा कृषि ज्ञान केन्द्र स्याङ्जा र प्रधानमन्त्री कृषि आधुनिकीरकण परियोजना स्याङ्जाको सहआयोजनामा तथा सफल खाद्यान्न कृषि समुह यवादीको सहयोगमा कृषि विकास स्रोत केन्द्र यवादीमा २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा बोल्नुहुँदै स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले हाम्रो धर्म, संस्कार संस्कृतिसंग जोडिएको असारे १५ परम्परालाई जोगाउनुपर्नेमा जोड दिनुभयो । साथै धान हाम्रो जीवनसंग जोडिएको भन्दै यसको महत्व संगसंगै प्रयोग पनि धेरै गरिने बताउनुभयो । कृषि कर्म आफैमा पुण्य कर्म भएकाले यसमा जोडिन सम्पुर्णलाई आग्रह गर्दै हामीले उत्पादन गरेका कृषि वस्तुहरुले मानव प्राणीसंगसंगै जीव जन्तुको प्राण पनि बचाउने काम गरेको उहाँको भनाई थियो । यस्तै कृषि उत्पादनका लागि विभिन्न चुनौतीहरु छन् त्यो चुनौतीको सामना गर्दै कृषि उत्पादनलाई बढ्वा दिने, आयस्रोत वृद्धि गर्ने र पारिवारिक तथा सामाजिक सम्बन्ध बनाउनको लागि पनि धान उत्पादन गर्नमा उहाँको जोड थियो ।
यस्तै कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमाल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याङ्जाका प्रमुख अजय अधिकारी लगायतले धान उत्पादन वृद्धि गर्दै आयात प्रतिष्थापन गर्ने र निर्यात बढाउन कृषि कर्म गर्नुपर्नेमा जोड दिनुभयो ।

कृषि विकास स्रोत केन्द्र वालिङका प्रमुख सुदिप रेग्मीले स्याङ्जामा कृषिजन्य बालीहरुको मुल बीउ उत्पादन गर्ने तथा बजारीकरण गर्नका लागि कृषि स्रोत केन्द्र लागेको भन्दै बीउ किन्न स्याङ्जा आउने वातावरण सिर्जना गर्ने बताउनुभयो । साथै उहाँले हाइब्रिड धान लगाउदा विभिन्न खालका समस्याहरु देखा पर्ने भएकाले रैथान बाली संरक्षण गर्ने तथा उन्नत बीउ प्रयोग गर्न सिफारिस तथा उन्मोचन गरिएको बीउ मात्र प्रयोग गर्न किसानलाई आग्रह गर्नुभयो ।
कार्यक्रम कृषि विकास स्रोत केन्द्र वालिङका प्रमुख रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यममा स्वागत सफल खाद्यान्न कृषक समुहका सरोज रेग्मीले र सञ्चालन केन्द्रका कृषि अधिकृत नवराज भुषालले गर्नुभएको थियो । यसैबीच स्याङ्जा सदमुकाम लगायत जिल्लाका अन्य स्थानमा समेत धान दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु भएका छन् ।






