वालिङ, १४ असार ।
जिल्ला बाल सञ्जालको बैठक शनिबार सम्पन्न भएको छ । उक्त बैठकले यस वर्षको बालदिवसमा बालबालिका समूहको पञ्चेबाजा प्रतियोगिता गर्ने निर्णय गरेको छ । सामाजिक विकास कार्यालय स्याङ्जाको कार्यालयमा सम्पन्न बैठकले आगामी भाद्र २९ गते उक्त प्रतियोगिता गर्ने निर्णय भएको समाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले जनाकारी दिनुभयो ।
बैठकले स्याङ्जा जिल्लाका बालसञ्जालका पदाधिकारीहरुले आफ्नो स्थानीय तह र आफ्नो विद्यालयमा बालसञ्जाल तथा बालसमूह गठन र परिचालनमा भूमिका निर्वाह गर्ने, स्थानीय बालमैत्री शासनको प्रतिबद्धता र घोषणामा बालसञ्जालका पदाधिकारीले टेवा पुर्याउने, विपतमा परेका बालबालिकालाई सहयोग गर्ने, बालबिबाह, बालश्रम साथै सामाजिक विकृति विरुद्ध विभिन्न अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
बैठकमा बालबालिकाहरुले आफ्नो स्थानिय तहमा बालबलिकाको लागि भएका असल अभ्यासहरुको कार्यपत्र प्रस्तुत गरेका थिए । एस.इ.ई नतिजामा सफल हुनुभएका सम्पूर्ण विद्यार्थीहरुलाई बधाई तथा ग्रेड वृद्धि परिक्षामा सहभागी हुने विद्यार्थीलाई सफलताको शुभकामना समेत दिइएको छ ।
जिल्ला बालसञ्जाल अध्यक्ष सुजता पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा सामाजिक विकास कार्यालयको तर्फबाट बालसञ्जाल स्याङ्जाका बालबालिकाहरुलाई पोषाक निर्धारण गरी वितरण गरिएको थियो ।





