वालिङ, ७ असार ।
आज अन्तर्राष्ट्रिय योग दिवस, स्याङ्जासहित देशैभरी विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग’ नाराका साथ दिवस मनाईएको हो ।
अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाउने गरिन्छ ।
संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।
स्याङ्जाको वालिङमा शनिबार एघारौं अन्तराष्ट्रिय योग दिवस विविध कार्यक्रम गरी मनाईएको छ । पतञ्जलि योग समिति नेपाल र महिला पतञ्जलि योग समिति नेपाल स्याङ्जाको संयुक्त आयोजना गरिएको एघारौं विश्व योग दिवसका प्रोटोकल योग अभ्यास, प्रभातफेरि तथा रक्तदान कार्यक्रम गरिएको हो ।
एघारौं विश्व योग दिवसका अवसरमा वालिङमा सप्ताहब्यापीरुपमा विविध कार्यक्रमहरु गरिएको थियो । सोही कार्यक्रम अन्तर्गत रहेर बिहान पतञ्जलि योग समिति नेपाल स्याङ्जाको आयोजनामा जिल्लाका विभिन्न भागमा योगकक्षा सञ्चालन हुँदै आएका योग साधना केन्द्रका साधकहरुको उपस्थितिमा वालिङस्थित पतञ्जलि योग पीठमा प्रोटोकल अनुसारको योग अभ्यास गरिएको हो ।

योग अभ्यास सकिएपछि पतञ्जलि योग पीठबाट प्रभातफेरि सुरु भएको थियो । प्रभातफेरि वालिङ मोड हुँदै केदारनाथ मन्दिर, घुम्ति, तल्लो वालिङ हुँदै पुनः पतञ्जलि योग पीठमा आएको थियो ।
प्रभातफेरि पतञ्जलिमा आएपछि रक्तदान कार्यक्रम गरिएको हो । नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको प्राविधिक सहयोगमा गरिएको रक्तदान शिविरमा ५३ युनिट रगत संकलन गरिएको थियो ।

एघारौं विश्व योग दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै वालिङ नगर प्रमुख कृष्ण खाँणले योगको महत्व र उपयोगिता बढ्दै गएको बताउँदै यसको महत्वलाई अझै समुदायस्तरसम्म पु¥याउनकालागि नगरपालिकाले पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा वालिङ नगरपालिकामा पतञ्जलिले जग्गा खरिद गरेर काम अगाडि बढ्न नसकेकोतर्फ बोल्नुहुँदै यस प्रक्रियालाई पूरा गर्दै यहाँको रोजगारी, आर्थिक गतिविधि, पर्यटन प्रवद्र्धन, स्वास्थ्य लगायतका क्षेत्रमा फड्को मार्न सकिने बताउनुभयो ।
कार्यक्रममा पतञ्जलि योग समिति नेपालका केन्द्रीय सदस्य मैयादेवी लम्साल (सरिता), पतञ्जलि योग समिति गण्डकी प्रदेश समितिका सदस्य बासुदेव अधिकारी, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ, पूर्णामृत बभवानी माविका प्रधानाध्यापक दीपक लम्साल, पतञ्जलि योग समिति नेपाल स्याङ्जाका उपाध्यक्ष विष्णुप्रताप खाँण, मदिखोला योग साधना केन्द्रका प्रमुख सूर्यप्रसाद पौडेललगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रम पतञ्जलि योग समिति नेपाल स्याङ्जाका अध्यक्ष नारायणप्रसाद तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने महिला पतञ्जलि योग समिति स्याङ्जाका अध्यक्ष कविता भुसालले स्वागत र महासचिव खगेन्द्रप्रसाद अर्यालले सञ्चालन गर्नुभएको थियो ।





